असार २८,जुम्ला । जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौं नआए वार्ता टोली नै नबनाउने सरकारले नयाँ अडान लिएको छ ।
१२ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई हेलिकोप्टरमार्फत बुधबार काठमाडौं ल्याउने सरकारको तयारी थियो ।
यसका लागि मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहसहितको सरकारी टोलीले नेपाली सेनाको हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको थियो ।
तर नेपाल चिकित्सक संघले डा.केसी आउन नमानेको भन्दै सरकारी टोलीसँग जुम्ला जान अस्वीकार गरेपछि सरकारको प्रयास असफल भएको हो ।
‘माग सम्बोधन गर्नका लागि वार्ता टोली नै बनाइएको छैन भने डा.केसी कसरी काठमाडौं आउन मान्नुहुन्छ ?’, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले प्रश्न गरे, ‘माग सम्बोधन गर्नलाई चासो नदिने डा.केसीलाई मर्न दिँदैनौं भनेर हुन्छ ?’
यसअघि पनि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दुई जना चिकित्सकलाई डा.केसीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्न जुम्ला पठाएका थिए । तर डा. केसीले उनीहरुलाई आफ्नो स्वास्थ्य जाँच गर्नसमेत दिएका छैनन् ।
माग सम्बोधन नभएसम्म डा.केसीले ओषधि समेत लिन अस्वीकार गरिरहेका छन । दिनानुदिन डा.केसीको स्वास्थ्य जटिल बन्दै गएपछि सरकारले वार्ता टोलीमार्फत माग सम्बोधन गर्नुको साटो ‘अपहरणको शैली’मा जुम्लाबाट उद्धार गर्ने बहाना मात्रै बनाएको चिकित्सक संघको दाबी छ ।
‘माग सम्बोधनका लागि हामीले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पटक पटक भनेका छौँ, तर उहाँहरुले सुन्नुभएको छैन, अहिले डा. केसी अनसन बसेको १२ दिन पुग्दासम्म पनि उहाँहरुले वार्ताको थालनी गर्नु भएको छैन्, सरकारको यही रवैया देखेर डा.केसी काठमाडौं आउनै मान्नुहुन्न, अनि हामी किन जाने जुम्ला ?’ संघका अध्यक्ष डा.श्रेष्ठले प्रश्न गरे ।