साउन ७,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालाले मनमोहन मेडिकल कलेजलाई सम्बोधन दिनुपर्ने बताएका छन । उनले एक लेखमार्फत यस्तो धारणा राखेका हुन । उनको भनाई यस्तो छ । –
‘माथेमा आयोग र अध्यादेशमा काठमाडौंमा मेडिकल कलेज खोल्न नदिने भनिएको छ । अर्कोतिर एमालेका साथीहरुले सहकारीमा मनमोहन स्वास्थ्य स्मृति प्रतिष्ठान खोल्नुभएको छ । वहाँहरुले त्यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्ने भन्नुभएको छ ।
मनमोहन अधिकारी दाइ हामी सबै नेपालीका प्रतिष्ठित राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ एमालेमा हुनुुहन्थ्यो, कम्युनिष्ट हुनुहुन्थ्यो । मैले त सांसद हुँदाखेरि पटक–पटक भनें, यो कुरा संसदीय समितिमा पनि बोलेको छु । यो मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिऔं । अरुलाई हामी अहिलेलाई रोकौं र मेडिकल कलेज कतिवटा चाहिन्छ भन्नेबारे छलफल गर्दै जाऔं ।
मेरो के तर्क छ भने काठमाडौंमा खोल्न दिने कि नदिने भन्नेमा एउटा कमिटी बनाऔं । माथेमा आयोगको प्रतिवेदन राम्रो छ । तर, अब त हामी निजीकरणमा गइसक्यौं नि त । निजीकरणलाई बेवास्ता गरेर विदेशी लगानी आउँदैन । यो पनि समस्या छ अब ।
म चाहन्छु मेडिकल कलेज प्राइभेटमा पनि आओस् । सरकारी पनि होस् । प्राइभेटलाई जिल्लाहरु कसरी दिने हो, छलफल गरौं । तर, काठमाडौंको हकमा भने अहिले मनमोहन मेडिकल कलेजलाई चाहिँ दिनुपर्छ जस्तो लाग्छ । उहाँहरुको पूर्वाधार विकास पनि भइसकेको छ । एउटा प्रतिष्ठत व्यक्तिका नाममा खोलेको छ उहाँहरुले । सहकारीमा छ । अरुलाई चाहिँ छलफल गर्दै आयोगले बनाएको कमिटीले अगाडि बढाओस् ।
काठमाडौंको हकमा एमालेका साथीहरुले सुरुमा गल्ती कहाँ गर्दिनुभो भने मनमोहनलाई सहकारीमा खोल्ने भन्नुभो । तर, उहाँहरुले बेग्लै ऐन ल्याएर गर्न खोज्नुभो । सहकारी त बेग्लै ऐन छँदैछ, बेग्लै ऐनबाट आउँदैन । सरकारले झारा टार्ने हिसाबले के भन्यो भने वीर हस्पिटलले त्यसलाई लिन्छ । यसरी हचुवा कुरा गरेर हुँदैन । हामीले अलिकति सोच्नुपर्छ ।’