बोली र व्यवहारले फसेका यी नेता ! कुन नेतालाई कुन काण्ड लाग्यो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण ८, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन ८,काठमाडौँ । भाषण गर्ने बेला मिलाएर बोल्न नजान्दा मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको छ ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै चर्को आलोचना भएपछि उनि राजीनामा दिन बाध्य भएका हुन ।

तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई नै जोडेर बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीका शीर्ष नेताहरुको निर्देशनपछि उनले राजीनामा दिन बाध्य हुनपर्यो ।

तामाङले कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू सधैं नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग रहेको बताए । पत्रकार सम्मेलनमा भावुक हुँदै तामाङले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको पनि दावी गरे ।

साउन ४ गते काठमाडौंको एउटा विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधनमा गर्ने क्रममा तामाङले बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने नेपाली छात्राहरूले सर्टिफिकेट लिनका लागि शरीर सुम्पनुपरेको कुरा आफूले सुनेको उल्लेख गरेका थिए ।

नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पुग्नेगरी कानुनमन्त्रीकै लज्जास्पद टिप्पणी आएको भन्दै उनको चौतर्फी विरोध सुरु भएको थियो । प्रतिपक्ष मात्रै नभई सत्तापक्षबाट पनि राजीनामा माग भएको थियो ।

सपथ लिएको ४ महिना ८ दिनमा तामाङले मन्त्री पदबाट बिदा लिनुपर्यो । नैतिकताका आधारमा राजीनामा दिएपछि उनको प्रशंसा सुरु भएको छ । यसअघि पनि यस्तै बोली र व्यवहारका कारण केही नेताले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

-हरि पराजुली

२०७२ असार १५ का दिन राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अघिल्ला वर्षजस्तै सरकारले मन्त्रीको उपस्थितिमा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो । त्यतिबेला कृषिमन्त्री थिए, हरि पराजुली । उनि धान दिवस मनाउन काठमाडौंको मूलपानी पुगेका थिए । त्यहाँ रोपाइँ कार्यक्रम उदघाटन सकेपछि मन्त्री पराजुलीले रोपाइँ गरिरहेका महिलालाई छोएर हिलो खेलेको फोटो÷भिडियो भाइरल नै बन्न पुग्यो ।

महिलामाथि अश्लील हर्कत गरेको उनमाथि आरोप लाग्यो । सामाजिक सञ्जालमा पराजुलीको राजीनामा मात्रै होइन, हदैसम्मको कारबाहीको माग गरियो ।

चौतर्फी दबावपछि उहाँलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा बोलाएर स्पष्टीकरण मात्रै लिनुभएन, राजीनामा दिन दबाब दिनुपर्यो ।

त्यसको केही दिनभित्रै पराजुलीले पदबाट राजीनामा दिए । त्यसअघि काठमाडौंको एक कार्यक्रममा पराजुलीले सूर्ती खाएर मञ्चमै थुकेको तस्बिर पनि पत्रपत्रिकामा प्रकाशित भएपछि चर्को आलोचना भएको थियो ।

-शरतसिंह भण्डारी

२०६८ सालमा तत्कालीन माओवादीका नेता डा।बाबुराम भट्टराई नेतृत्वमा रहेका सरकारका रक्षा मन्त्री शरतसिंह भण्डारीले २२ जिल्लाले निर्णय गरे तराई नेपालबाट छुट्टिन कसले रोक्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिए ।

०६८ असोज १ गते दिएको त्यही अभिव्यक्तिले त्यसको एक महिनापछि कात्तिक २ गते भण्डारीले मन्त्री पदबाट हात धुनुपर्यो । तत्कालीन फोरम लोकतान्त्रिक पार्टीले उनलाई रक्षामन्त्रीबाट फिर्ता बोलायो ।

देश नै टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भएको थियो । उनका समर्थक कार्यकर्ताले भने सरकारबाट फिर्ता बोलाउने निणर्यका विरुद्ध सडक आन्दोलनमै उत्रिएका थिए ।

-मातृका यादव

वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि एकपटक यसअघि बर्खास्तीमा परेका थिए । २०६४ सालमा वनमन्त्री हुँदा वातावरण विनाश हुनेगरी अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारबाही नगरेको भन्दै उनले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई मन्त्रालयकै शौचालयभित्र थुनेका थिए । यो घटनापछि उनि एकाएक चर्चामा आए ।
लगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण यादव मन्त्रीबाट बर्खास्तीमा परे । कोइरालासँग विवाद भएपछि तत्कालीन माओवादीले यादवलाई मन्त्रीबाट फिर्ता बोलाउनुपरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस