प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज : जोशीविरुद्ध ५ उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका विभिन्न उजुरीहरुको आज सामना गर्दैछन् ।

संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको दिउँसो १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो । यसअघि सुनुवाइ समितिले उजुरीको समय दिँदै सुनुवाइको मिति तय गरेको थियो ।

जोशीविरुद्ध विभिन्नखाले ५ उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । तर कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् ।

समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्यन्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए । यद्यपि, संसदको कार्यसञ्चालन नियमावलीको अभावमा संसदीय सुनुवाइ समिति गठन नहुँदा चयन प्रक्रियाले गति लिन सकेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस