प्रदेश ७ को राजधानी र नामाकरणका लागि समिति गठन

Post Thumbnail

साउन १५,काठमाडौँ । प्रदेशसभाले पूर्णता पाएको लामो समयपछि प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि विशेष समिति गठन गरिएको छ । गएको महिना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा संचालन भएको लामो समय वितिसक्दा पनि राजधानीको नाम र स्थानाबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरिएको बताए ।

उनका अनुसार समितिमा संयोजक तारालामा तामाङ, प्रदेश सांसद बलदेव रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् । समितिमा रहेका अधिकांश सांसदहरु नेकपाबाट निर्वाचित भएका हुन् भने श्यामलाल राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद छन ।

विशेष सुझाव समितिलाई ७ दिनभित्र प्रदेशको नामाकरण र राजधानी बारे प्रतिवेदन तयार गरी पेश गर्न भनिएको सभामुख थापाले जानकारी दिए । ‘सरकोरवाला सबै पक्षसँगको छलफल र सहयोगमा प्रतिवेदन पेश गर्न सुझाव दिइएको छ, कुनै पनि क्षेत्रलाई मर्का नपर्ने प्रतिवेदन मागिएको छ’ उनले भने।

समितिका संयोजक तारालामा तामाङले सभामुखसँग परामर्श गरी कार्यविधि तयार गर्ने बताए। उनले तोकिएको समयसीमा भित्रै सम्बन्धित सबै सरोकारवाला पक्षसँगको सहकार्यमा विवाद रहित स्थान र नामाकरणसहित प्रतिवेदन पेश गर्ने जानकारी दिए ।

संयोजक लामाले प्रदेश ७ का सबैलाई मान्य हुने गरी नामाकरण र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा सुक्ष्म तरिकाले विज्ञहरुसँगको सहकार्यमा तोकिने बताए । अहिले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस