भाद्र १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै छन्।
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा भएको सहमति र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउन लागेका हुन्।
प्रतिनिधिसभा बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ ।
काठमाडौंमा गत बिहीवार र शुक्रवार भएको सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो । बिमस्टेक आवद्ध मुलुकमा सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने, कनेक्टिभिटीका लागि नयाँ योजना र बुद्ध सर्किट बनाउने लगायत सहमति भएको छ ।
प्रधानमन्त्री ओलीले गत मंगलवारको बैठकलाई सम्बोधन गर्दै बिमस्टेकको तयारी, नेपालले प्रस्तुत गर्ने एजेण्डा लगायतबारे जानकारी दिएका थिए ।
प्रतिनिधिसभाले आजै वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेछ ।
यसैबीच, प्रतिनिधिसभा अन्तरगतका बिभिन्न चार वटा समितिको बैठक आज बस्दैछ । विकास तथा प्रविधि समितिको बैठक बिहान १० बजेका लागि बोलाईएको छ भने अन्तराष्ट्रिय सम्बन्ध समिति, कानुन न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक ११ बजेका लागि बोलाईएको छ ।
यस्तै राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।