असोज ३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन ।
संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, “समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत÷पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।”
आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्या्दित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उनले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए ।
सङ्घीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, “सङ्घीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क÷वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।”
उनले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने विश्वास व्यक्त गरे ।