असोज ८,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्केका छन ।
त्यस अवसरमा उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उनको स्वागतमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुगेका थिए ।
उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेङ्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’ मा सहभागी हुन चीन गएका थिए ।
त्यस क्रममा उनले ‘वान बेल्ट, वान रोड’ सम्बन्धी कार्यक्रममा पनि सहभागी भएका थिए । उपराष्ट्रपति पुनले चीन बसाईको क्रममा सिचुवानमा सञ्चालित विभिन्न विकास परियोजनाको अवलोकन भ्रमणसमेत गरेका थिए ।
उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग पनि शिष्टाचार भेट गर्नु भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।