असोज ९,काठमाडौँ । सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् ।
न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
तर, प्रकाण्डलाई पुन पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिएकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।’
सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।
सहज होला वार्ता ?
गृहमन्त्रालयले वार्ताका लागि टोली गठन गरेकाले विप्लव समूहका प्रवक्तालाई सरकारकै निर्देशनमा पक्राउ नगरिएको बुझिएको छ । वार्ता गर्न गठित टोलीले प्रकाण्डलाई रिहा नगर्दासम्म विप्लव समूहसँग वार्ता गर्ने वातावरण नबनेको भन्दै सर्वोच्चको आदेश पालना गर्नुपर्ने सुझाव दिएको थियो ।
वार्ता सहज बनाउन पनि प्रकाण्डलाई रिहा गरिएको बुझिएको छ । रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।