अध्यक्ष प्रचण्डको सक्रियताले नेकपाभित्र चर्किएको विवाद सल्टिएला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको आन्तरिक विवाद समाधानको प्रयास सुरु भएको छ ।

पार्टीको सांगठनिक एकता र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाभित्र विवाद चुलिएको छ ।

आन्तरिक विवाद मिलाउन पार्टीका प्रभावशाली नेताहरु सक्रिय भएका छन् ।

दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलापछि सतहमै देखिएको विवाद मिलाउने प्रयास सुरु भएको छ ।

नेतृत्वले एकलौटी ढंगले प्रदेश संयोजक र पदाधिकारी नियुक्त गरेको भन्दै वरिष्ठ नेता नेपालसहितका प्रभावशाली नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

आन्तरिक विवाद चुलिएपछि अध्यक्ष पुष्पकमल दाहालले आइतबार सिंगापुरबाटै वरिष्ठ नेता नेपालसँग टेलिफोन वार्ता गरेका थिए ।

अध्यक्ष दाहालसँगको टेलिफोन वार्तामा पनि नेता नेपालले नेतृत्वले विधि र प्रक्रिया मिचेर प्रदेश कमिटी गठनको निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

जवाफमा अध्यक्ष दाहालले पछिल्ला असमझदारी र असहमति स्थायी कमिटी बैठकबाटै समाधान गर्नसकिने आश्वासन दिएका थिए ।

प्रदेश संयोजक र पदाधिकारी गठनको सचिवालय निर्णयप्रति नेपाललगायतका असन्तुष्ट पक्ष पनि तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरिरहेका छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधिसम्मत् ढंगले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पत्नी सीताको उपचार गर्न सिंगापुर गएका अध्यक्ष दाहाल सोमबार स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट सुरु भएको सचिवालयले जनाएको छ ।

उनी स्वदेश फर्के पनि वरिष्ठ नेता नेपालसँग भने औपचारिक संवाद हुन सकेको छैन । वरिष्ठ नेता नेपाल आइतबार चीन भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिकापछि अहिले कोस्टारिकाको भ्रमणमा रहेका छन् ।

पार्टीका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल स्वदेश फर्केपछि विवाद अन्त्यका लागि ठोस पहल हुने र स्थायी कमिटी बैठकबाटै विवाद अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस