असोज १८, काठमाडौं । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् ।
पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए । भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेता उपस्थित थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ गएनन् । पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए ।
नेविसंघ अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेलपक्षको आरोप छ ।
महाधिवेशन तयारी अघि नबढेसम्म सभापतिको उम्मेदवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेता सहमत भएका छन् ।