प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १९, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं ।  झण्डै दुई हप्तापछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज भेटघाट हुने भएको छ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई भेट्न केहीबेरमै प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास जाँदैछन्।

संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ६ असोजमा न्यूयोर्क प्रस्थान गरेयता ओली-प्रचण्डबीच भेट भएको छैन।

ओली विहीबारमात्र न्यूयोर्कका अलावा दक्षिण अमेरिकी राष्ट्र कोष्टारिकाको समेत भ्रमण सकेर स्वदेश फर्केका छन्।

अध्यक्ष प्रचण्डपनि यसबीचमा पत्नी सीता दाहालको उपचारका लागि सिँगापुर पुगेर १५ असोजमा काठमाडौँ फर्केका छन्।

आजको भेटमा पार्टी एकता र नेकपा बरिष्ठ नेता माधव नेपालको असन्तुष्टि र सरकारको काम कार्वाही लगायतका विषयमा छलफल हुनेछ।

ओली र प्रचण्ड स्वदेशमा नभएका बेला बरिष्ठ नेता नेपालले संसदमा सरकारप्रति असन्तुष्टिमात्र प्रकट गरेका थिएनन्, स्थायी समितिका सदस्यहरुको भेला गरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए।

उनको असन्तुष्टि ५ असोजको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयप्रति थियो। सो बैठकले प्रदेश नेतृत्वको चयन गरेको थियो।

५ असोजको सो बैठक घानामा रहेका नेता नेपाल र चीनमा रहेका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा भएको थियो।

आजको बैठकमा मूलत नेता नेपालको असन्तुष्टि र पार्टी एकताका बिषयमा केन्द्रित हुनेछ।

५ असोजको केन्द्रीय सचिवालय बैठकले प्रदेश ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवको चयन गरेपनि विभिन्न विभाग, आयोग, जनबर्गीय संगठन र मोर्चाको एकता टुङ्ग्याउन सकेको छैन।

अझ ५ असोजको बैठकप्रति बरिष्ठ नेता नेपालको असन्तुष्टिका कारण सो निर्णयले निरन्तरता पाउला कि नपाउला भन्ने आशंका सिर्जना भएको छ।

त्यसबाहेक आजको बैठकमा सरकारको काम कार्वाहीप्रति पनि छलफल हुनेछ। सत्तारुढ दलका नेताहरु नै सरकारको काम कार्वाहीप्रति सन्तुष्ट छैनन्।

नेकपा स्रोतका भनाईमा, ओली-प्रचण्डबीचको आजको बैठकले केन्द्रीय सचिवालय र स्थायी समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना छ।

ताजा अपडेट

खोजी गर्नुहोस