असोज २२,काठमाडौँ । प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।
प्रदेश सरकारले सोमबार सर्बदलीय बैठक आह्वान गरी प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी सभा बैठकको अन्त्यको तयारीमा सरकार जुटेको हो ।
सरकारले प्रदेशको नाम र राजधानीका यही अधिवेशनबाट टुंगो लगाउने भने पनि सम्भव नभएको भन्दै हाललाई थाती राखेर अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारले निर्णय गरिएको हो ।
नेकपाका संसदीय दलका उपनेता टंक आङबोहाङले मंगलबार प्रदेश सरकारको बैठक बसी प्रदेश सभाको जारी अबिधेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।
उनले नेपालीहरुको बडा दशै र तिहार नजिकएको भन्दै प्रदेश सभा सदस्यहरुले आवाज उठाएपछि प्रदेश सभा अन्त्यको निर्णय गरिएको बताए ।
उनले प्रदेशको नाम र राजधानीको बिषयमा गहन छलफल गर्ने र सहमतिबाट टुग्याउने तयारी भइरहेकाले त्यसका लागि अझै व्यापक छलफल गर्नुपर्ने आवश्यकता रहेकाले हाललाई प्रदेश सभा अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।
उनले दशैपछि मात्र प्रदेश सभाको नाम र राजधानीको बिषयलाई टुंग्याउने तयारी भइरहेको जानकारी दिए ।
नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भए पनि बैठकले कुनै निर्णय नलिई स्थागित भएको छ । मुख्यमन्त्री शेरधन राईले दलको अर्को बैठक डाक्न सकेका छैनन् ।