प्रदेश २ को प्रदेशसभामा संघीय प्रहरी ऐन बहुमतले पारित

Post Thumbnail

असोज २८,जनकपुर । प्रदेश २ को प्रदेशसभाले संघीय प्रहरी ऐन बहुमतले पारित गरेको छ । नेकपाको विरोधका बावजुद बहुमतले पारित भएको हो । यससँगै प्रदेश सरकारलाई प्रदेश प्रहरी गठनको बाटो खुलेको छ ।

प्रदेश प्रहरी ऐन अध्ययन समितिका सभापति राजपाका सांसद सुरिता साहले विज्ञको सुझावलाई समेटेर तयार गरिएको विधेयक प्रदेशसभामा पेश गरेकी थिइन् ।

संविधान अनुसार नै ऐन तयार गरिएको उनले बताइन् । संविधानको धारा २६८ अनुसार प्रदेश प्रहरी संरचना तयार गरिएको र संघीय ऐनलाई कुनै पनि अवरोध नहुने उनको भनाइ छ ।

प्रदेश सरकारले प्रहरी ऐन सेवासम्बन्धी विधेयक प्रदेशसभामा असार १६ गते पेश गरेको थियोे भने २७ गते अध्ययन समिति बनाएर त्यहाँ पठाइएको थियो ।
प्रदेशले प्रहरी ऐन बनाएपनि केन्द्रले संघीय प्रहरी ऐन अझैसम्म बनाइएको छैन ।
यसले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा जटिलता छ ।

तर, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने संघीय प्रहरी ऐन तत्काल नआउन नसके प्रदेशका प्रहरीहरु प्रदेश सरकारमा मातहतमा हुने परिपत्र केन्द्रले गरे समस्या समाधान हुने बताउँछन् । उनले भने, ‘अब हामी धेरै पर्खन सक्दैनौं । प्रदेशमा रहेका प्रहरीको सरुवा, वढुवा लगायतका अधिकार अब प्रदेश सरकारमा मातहत आउनुपर्छ ।’

उनका अनुसार प्रदेश प्रहरी ऐनअनुसार एउटा चौकीमा १३ जना प्रहरी हुनुपर्छ । तर, अहिले पनि थुप्रै चौकीमा ५ जना मात्र छन् । त्यसैले प्रदेश सरकारले ठूलो संख्यामा प्रहरी भर्ना गर्नुपर्ने हुनसक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस