कात्तिक ७, काठमाडौं । दुई नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टीबिच दल दर्ताका विषयमा रहेको विवादबारे निर्वाचन आयोगले बुधबार अन्तिम निर्णय गर्ने तयारी गरेको छ ।
दल दर्ताका विषयमा परेको उजुरीबारे छलफल गरी टुंगो लगाउनका लागि दुवै नेकपाका प्रतिनिधिलाई बुधबार निर्वाचन आयोगमा बोलाइएको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार बिहान ११ बजेपछिका लागि छलफलका लागि बोलाइएको र विवादका बारेमा बुधबार नै निर्णय लिइनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भइर बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीबिच आयोगमा दलको नाम एउटै भएको भन्दै दर्ताका विषयमा विवाद छ । दुवै पक्षसँग छलफल गरेर यो विवादलाई टुंग्याउने तयारीमा आयोग लागेको हो ।
नेकपाको तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट अध्यक्षसहित नौजना सहभागी हुने नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बताए।