कार्तिक २०,काठमाडौँ । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भीर आरोप लगाएका छन । सीआर्इए अमेरिकी गुप्तचर संस्था हो ।
स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दाबी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दाबी गरे ।
स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गरेका थिए ।
स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रिपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण पनि दिए । उनले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन पनि मुख्यमन्त्री पौडेललाई चुनौति दिए ।