मंसिर ४, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा सोमबार जानकारी लिने क्रममा सो बताएका हुन् । साथै उनले भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन, विद्यालय र सर्वसाधारणको भवनको पुनः निर्माणमा ढिलाइ गर्न नहुने र यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा पुनःनिर्माणमा भइरहेको प्रगतिका विषयमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री पौडेलले जाडो महीना शुरु भइसकेको भन्दै भूकम्पपीडित परिवारलाई यथाशीघ्र घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाउनसमेत आग्रह गरे।
भेटका अवसमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कामलाई तीव्र गति दिई लाभग्राहीलाई पुनःस्थापना गराउन प्राधिकरणले काम गरिरहेको छ भने ।
प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्न सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको बताइएको छ ।