मंसिर १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ ।
पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीले यसअघि नै पूर्णता पाएपनि पोलिट्ब्यूरो गठन हुन सकेको छैन भने तल्ला कमिटीको एकता हुन अझै समय लाग्ने नेताहरुको भनाइ छ ।
गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता घोषणासभामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तीन महिनाभित्र तल्लो तहसम्मै एकता टुंगो लगाउने घोषणा गरेका थिए ।
तर, पार्टी एकताको ६ महिनापछि बल्ल–बल्ल नेकपाले दुई चरणमा गरी प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ ।
गत असोज ५ गते सातओटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम तय गरेको थियो ।
यस्तै, मंसिर १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम टुंगो लगाएपनि विवाद भएपछि सोमबारमात्र सार्वजनिक गरेको हो ।
नेकपाको अन्तरिम विधानको व्यवस्थाअनुसार अझै पार्टी कमिटीमा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर, उपमहानगर, नगर, गाउँ कमिटी, वडा वा शाखा कमिटी र पार्टी सेल कमिटी गठन गर्न बाँकी छ ।
यस्तै, जनवर्गीय संगठनतर्फका केन्द्रदेखि स्थानीय तहसम्मका एकता पनि टुंगो लाग्न बाँकी छ ।
तल्लो तहसम्मै दुई पार्टीको एकता कहिले टुंगो लाग्ने भन्ने विषयमा स्वयं शीर्ष नेताहरु नै भन्नसक्ने अवस्थामा छैनन् ।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले तल्लो तहसम्मकै एकताको लागि अझै समय लाग्ने बताए ।
केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि पटक–पटक सचिवालय बैठक बसेपनि जिम्मेवारी बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।
अहिलेसम्म पूर्णता पाएका कमिटीहरुको एकता पनि विवादरहित हुन सकेको छैन । पार्टीका प्रभावशाली नेताहरु नै केन्द्रीय कमिटी र प्रदेश कमिटी एकतामा असन्तुस्ट छन् ।
नेकपाको अन्तरिम विधानले व्यवस्था गरेअनुसार गाउँ तहसम्मै कमिटी गठन हुँदा झन्डै चार लाख नेता–कार्यकर्ताले प्रत्यक्षरुपले पार्टीको जिम्मेवारी पाउँछन् ।
अहिलेसम्म सबै प्रदेश कमिटी सदस्य र केन्द्रीय समितिका सदस्य गरी एक हजार ८२५ जना नेता–कार्यकर्तालेमात्र पदीय जिम्मेवारी पाएका छन् ।