राजपा नेपाल अहिले महाधिवेशनको मुखमा रहेको छ । तर पनि यसको तयारीमा नजुटी पार्टीमा अहिले ५ जना अध्यक्षमण्डलभित्र चक्रिय प्रणाली लागु गरिएको छ । यो पार्टीभित्र नै एउटा आलोचनाको कुरा भैरहेको छ । राजपाका सहमहामन्त्री सुरेन्द्र कुमार झा यसलाई बिना लगनको सहनाईको रुपमा लिन्छन् । उनी झासँग यीनै समसामयिक विषयमा अअनलाईन केन्द्रका प्रधान सम्पादक राज ढुंगानाले गरेको कुराकानीको सम्पादित अंश :
राजपाको महाधिवेशनको मिति नटुंगीँदै ५ जनाको अध्यक्ष मण्डलमा चक्रिय प्रणालीको शुरुवात भएछ नि ?
यो बिना लगनको सहनाई बजाउने काम भएको छ । खास गरीकन चक्रिय प्रणाली लागु गर्दै २÷२ महिनामा अध्यक्ष बदल्ने सहमती भएको थियो । हालसालैको बैठकमा महेन्द्र यादवले चक्रिय प्रणालीलाई निरन्तरता दिन प्रस्ताव गर्नुभयो । सभाले त्यो कुरालाई स्विकार गर्योे । महन्त ठाकुर जसले लोकतन्त्रको लागी जिवन समर्णपन गरेका छन्, जसले यो ‘रुल अफ ल’ लाई सम्मान गर्दछन् उहाँले एकदमै सहज ढंगले लिनुभयो । राष्ट्रिय जनता पार्टी देश कै तेस्रो ठुलो पार्टी हो, जसको अध्यक्ष हुनुहुन्छ महन्त ठाकुर, उहाँले सहज ढंगले चक्रिय प्रणालीलाई स्विकार गर्नु भएको थियो । पार्र्टीमा चक्रिय प्रणाली लागु गर्न किर्ते शैली किन अपनाइयो भन्ने एउटा शंकाको विषय रहेको छ ।
पछिल्लो समय राजपामा एउटा समुह ले विधिविधानलाई मिचेर फड्को मार्न लागेको देखिन्छ, कुरा के हो ?
अब यो त सावित हुँदै गईरहेको छ । हाम्रो विधानमा अध्यक्षमण्डलको संयोजक परिवर्तन गर्दा सर्वसम्मतीले हुनुपर्दछ भनेको छ । अब त्यो सर्वसहमती भन्दा ६ जना अध्यक्ष हुनुहुन्छ, त्यसमा त ६ जनै अध्यक्षको सहमती हुनुपर्छ ।
राजपा नोट अफ डिसेन्ट अनुसार अगाडि बढेको हो ?
यसमा प्रक्रियागत त्रुटि देखियो । अर्काे कुरा किर्ते शैलीमा किन जानु प¥यो भन्ने मेरो भनाई । राष्ट्रिय जनता पार्टीको संयोजक परिवतर्न हुँदा महन्त ठाकुर जस्तो लोकतान्त्रिक मान्छे जसले सहज ढंगले त्यो स्विकार गर्नुभयो र भन्नुभयो, जो साथीको पालो छ उहाँलाई दिनुहोस्, केहि फरक पर्दैन । उहाँले यस्तो भनिसके पछि पहिले अर्कै ठाँउमा बनाएर ल्याएको उक्त विज्ञप्ति सादा पानामा बनाएर ल्याउनु भएको थियो । त्यसैले हामीलाई के संशय भई रहेको छ भने विधान मिच्ने काम भएको छ । यो विधान मै त्रुटि छ त्यसैले यो विधानलाई नै सच्याउनु प¥यो । अहिलेको संयोजक प्रति हाम्रो कुनै आपत्ति हैन । हामीले २÷२ महिनामा चक्रिय प्रणाली लागु गर्ने भनेर सहमती नै गरेर आएका छौं ।
महाधिवेशनको तयारीमा जुट्नुपर्ने समयमा पार्टीमा चक्रिय प्रणाली लागु गर्नुभयो । के तपाईहरुलाई पदीय लालच भएको हो ?
यसमा हामीलाई ३/४ वटा कुरामा शंका लागेको छ । पार्टीका सदस्यहरुलाई जुन जिम्मेवारीका साथ भित्राउनु भयो, उहाँहरुको नियुक्ति बदर भयो भनेर निर्णय गर्न मिल्ला कि नमिल्ला ? यो गैर राजनीतिक निर्णय कसरी लागु हुन्छ र किन लागु हुनुप¥यो भन्ने हाम्रो सवाल हो । अर्काे तिर भोली गएर राजपमा को मान्छे आउँछ ? एउटा संयोजकले गरेको निर्णयलाई फेरी त्यहि संयोजकको सिग्नेचरबाट बदर गरिन्छ भने भोली बन्ने अर्काे संयोजकको निर्णयलाई पनि त बदर गर्नुप¥यो, भन्ने हुन्छ । त्यसैले यो पार्टीको अहितमा भएको निर्णय हो ।
अर्को कुरा, पार्टिको महाधिवेशन नगराउने, र यो अध्यक्षमण्डल असफल भयो भन्ने मेची देखि महाकालीका आन्दालनकारी ६ वटै दलका नेता जुन आन्दोलनबाट आएका थिए, उनीहरुले एक मतले सबै जिल्लाहरुमा आफ्नो क्रियाकलापहरु अगाडी बढाउदा अध्यक्षमण्डलको अधिकांश साथीहरुलाई अब हाम्रो भविष्य कहाँ जाने भन्ने भएको हो । त्यसले गर्दा पनि उहाँहरुले यस्तो प्रकारको निर्णयमा अगाडी बढ्नुभयो ।
मधेश आन्दोलन, मधेशका एजेण्डा, आदिवासी, जनजातीहरुलाई अधिकार दिलाउने सन्दर्भमा महन्त ठाकुरले संर्घषलाई निरन्तरता दिनुभयो, मधेशका मुद्दाहरुको सुनुवाई हुनु पर्छ भनेर जुन चट्टानी निर्णय लिनुभयो, त्यसले के भएको छ भने सत्तारोहणको बाधक कतै महन्त ठाकुर भएको छ कि भन्ने पक्षले पनि कार्य गरेको छ । र तराई मधेश लोकतन्त्र पार्टी फुट्दा महेन्द्र यादव बालुवाटारको मतियार बन्नुभयो । यी कुराले पनि हामीलाई के संकेत पैदा गर्दैछ भने आज महन्त ठाकुर माथीको प्रहार गर्न सकियो भने मधेश कमजोर हुन्छ, भनेर त्यो शक्तिको मतियार हाम्रो कोही साथी बनेको हो कि जस्तो लाग्छ ।