मंसिर २२,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’लाई निरन्तरता दिएको छ । काठमाडौ महानगरपालिकाले मंसिर ८ गतेदेखि सुरु गरेको यो अभियानलाई अब निरन्तरता दिने दावी गरेको छ ।
अहिलेसम्म महानगरपालिकाले सुरु गर्ने अभियान बीचमै तुहिने गरेको छ । तामझामका साथ मेयरले थाल्ने अभियान भोलिपल्टै सेलाउने गर्दा ‘क्लिन द सिटी’ नाममा गत वर्ष चलेको अभियानमा पनि निष्प्रभावी बनेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौँ महानगरपालिकाले रात–दिन नभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए ।
शनिबार सरसफाई अभियान सुरु हुनु अघि मन्तव्य राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाले काम गरिरहेको स्मरण गराउँदै भने– ‘महानगरपालिकाले रातो(दिन काम गरिरहेको छ । तर, अहिले बन्दै गरेका भौतिक संरचना र त्यसका निर्माण सामाग्री जथाभावी मिल्काउँदा सहरको सौर्दयीकरण बढाउन केही समस्या भएको छ ।’
त्यसैगरी मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तसम्म सबै ठिक हुने दाबी गरे । ‘ म तपाईँहरुसँग जेठ मसान्तसम्मको समय माग्छु । त्यो बेलासम्ममा कलंकी(नागढुंगाको बाटो पनि बनिसक्ने छ,’ उनले भने, ‘त्यतिबेलासम्म काठमाडौँ महानगरपालिका र हामी मिलर आवश्यक पर्यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्ने छौँ । यो मेरो प्रतिवद्धता पनि हो ।’
मन्त्री महासेठले भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुने भन्दै मौसम प्रतिकुलताले कलंकी नागढुङ्गा सडक निर्माण भईनसकेकोले धुँवाधुलो नियन्त्रणमा समस्या भएको बताए ।
‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरता दिने तयारी गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने, ‘अहिले धरहरा, दरवार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन् ।
यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो ।’
उनले अहिले पनि निरन्तर रुपमा महानगर सुन्दर बनाउने अभियानमा जुटेका भन्दै थप पाँचओटा ब्रुमर निकट भविष्यमै आउने तयारीमा रहेको बताए ।
उनले आफू निर्वाचित भएर आएको अवस्थाको भन्दा अहिले विस्तारै महानगरपालिका धुलो मुक्त हुँदै गएको र अब अझ सुन्दर र सफा महानगर हुने दाबी पनि गरे ।
मेयर शाक्यले अहिले पनि चाहेको जति काम हुन नसकेको भन्दै यसरी सरसफाई गर्ने कामलाई महानगरपालिकाले नियमित रुपमा अघि बढाउने बताए ।
यस क्रममा सडक पेटीमा रहेका र्याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथातार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए । आजको सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलनगर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।