मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लोकतान्त्रिक सहभागितालाई छलछाम र धोखाधडीको संज्ञा दिएको छ ।
राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टी उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्य समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आज सार्वजनिक गर्दै कांग्रेसले ‘कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एक दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको’ औंल्याएको हो ।
संघीयताप्रति उदासिनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेपको सरकारको प्रयासलाई कांग्रेसले ‘सर्वसत्तावाद’ उन्मुख भनेको हो ।
कांग्रेसले विगतका प्रधानमन्त्रीलाई भन्दा सहज राजनीतिक वातावरण प्राप्त भए पनि वर्तमान प्रधानमन्त्रीमा कुशल राजनीतिक क्षमता नदेखिएको आरोप लगाएको छ । एसिया प्यासिफिक सम्मेलनमा सरकारको भूमिकाले उसको दिशाहीन शैली र चरित्र छर्लङ पारेको भन्दै कांग्रेसले एमाले र माओवादीको एकतालाई पनि नरुचाएको प्रष्ट पारेको छ ।
सामाजिक सुरक्षा योजना लागू गरेकोमा सरकारलाई धन्यवाद दिएको कांग्रेसले जुनसुकै दलको सरकार भएपनि राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति फेरबदल हुन नहुने निष्कर्ष निकालेको छ ।