पुस २६,धुनिवेशी । एकिकृत शहरी विकास योजना अन्तर्गत धुनिवेशी नगरपालिकाको दिर्घकालिन सोच निर्धारण सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आज बाट शुरु भएको छ । गोष्ठीको पहिलो दिन आज नेकपा नेता तथा प्रदेशसभा ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेले मुलुकका अधिकांश स्थानीय सरकारले सोचे अनुरुपको काम गर्न नसक्नु दुखद रहेको बताउदै सबै सरकारले समयको ख्याल गर्न नसकेको बताए ।
नेता पाण्डेले जेठ १५ मै बजेट ल्याउदा पनि मुलुकका तिनै तहका सरकारले सन्तुलित खर्च गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । नेता पाण्डेले आफु ४ पटक केन्द्रिय सांसद भएको बेला चारैपटक स्थानिय सरकार बनाउन लड्ने एक्लो व्यक्ती भएको बताउदै भने–’म चारै पटक स्थानीय सरकार हुनुपर्छ त्यसपछि मात्रै हामीले सोचे अनुरुपको विकास हुन्छ भन्थे,यसो भन्दा नेताहरु मलाई उडाउथे,कतिपयले आफ्नो खुट्टामा आफै बन्चरो हान्ने भन्थे तर आज स्थानीय सरकार आएरै छोड्यो ।
नेता पाण्डेले थप भने–’हामीले स्थानीय सरकारको परिकल्पना गर्दा प्रत्येक वडाका अध्यक्षले विभागिय जिम्मेवारी लिने भनेका थियौँ, वडाको प्रतिनिधित्व गरेता पनि केन्द्रमा विभागिय मन्त्री भनेजस्तै स्थानीय सरकारमा पनि वडा अध्यक्षहरु शिक्षा,स्वास्थ्य लगायत विभागिय प्रमुख हुने भन्ने सोचेका थियौँ तर उहाँहरु वडाको मात्रै जिम्मवारी हो भनेर हिँड्नुभएको छ,स्थानीय सरकारले पनि त्यो अनुरुपको योजना बनाउन सकेन् ।’
नेता पाण्डेले वास्तविक जनताको हैसियत माथी उठाउने कार्यक्र ल्याउन अनुरोध गर्दै नगरको पुर्वाधारमा जोड दिए । उनले नगरलाई कृषिमा आधारित हरियाली नगर बनाउने की धुलो/धुँवायुक्त अव्यवस्थित औद्योगिकरणमा जोड दिने अव फैसाला गर्नुपर्ने बताए । नेता पाण्डेले नगरवासी र जनप्रतिनिधि मिलेर नै नगरको दिर्घकालिन योजना बनाउन सकिने भन्दै बाहिरकाले आएर लादेको कुरा मान्न तयार हुनुनपर्ने भन्दै नगरका दक्ष जनशक्ती नै नगरको स्थायी सम्पती हो भने ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नगर सभापति दिपेन्द्र पाठकले नगरपालिका कुहिरोको काग भएको भन्दै विकाश र सम्बृद्धी गर्न सही मार्ग पहिल्याउन नसकेको जिकिर गरे । नेता पाठकले नमुना नगर बनाउन एक व्यक्तिको पहलले मात्रै नभएर सवैको साथ लिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा धुनीवेशीका नेता दिपक लामिछानेले नगरको कामको बारेमा गम्भिर समिक्षा गरेर अघि बढ्नुपर्ने बताए । उनले राजधानीसंग जोडिएको नगरले आफ्नो चिनारीबारे प्रष्ट हुँदै प्रचुर सम्भावनाको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्यले एकले अर्कोलाई सहयोग गरेर अघि बढे सिंगो नगरले लिएको लक्ष्य पुरा हुने बताए । नगरप्रमुख आचार्यले करको विषयमा उठेको प्रश्नको जवाफ दिँदै हिजोका पुराना करहरुको अवस्था र करका क्षेत्रमा कुनै हेरफेर नभएको भन्दै नगरको व्यवस्थाबारे तथ्यसहित जानकारी लिन आग्रह गरे ।
उनले ईट्टाभट्टाको अहिलेको अवस्था आउनु पुरानो संरचना र त्यसबेलाका नेतृत्व जिम्मेवार हुनुपर्ने बताउदै अहिलेको धुलोधुवाँ नियन्त्रणमा स्थानीय सरकारले एक्सन लिने बताए । उनले भने–’हिजोको नेतृत्वले गरेको गल्तिको जिम्मा हामी लिन सक्दैनौँ, आजको समस्या समाधान गर्न नगरपालिका तयार छ ।’ आचार्यले नगरका सडक मध्ये आठवटा सडकको डिपिआर तयार भएको भन्दै आठवटै सडक बाह्रै महिना चल्न सक्ने बनाउन केन्द्र,प्रदेश र स्थानीय सरकारले २/२ वटा बनाउने बताए । उनले प्रदेश र केन्द्रले सहयोग नगरेपनि आगामी बर्ष २ वटा सडक कालोपत्रे गर्ने नगरको योजना रहेको बताए ।
आचार्यले कृषि र पर्यटन नगरको प्रमुख आधार रहेको बताए । कार्यक्रमममा नगर उपप्रमुख निरु खरेल,कार्यकारी अधिकृत राजेन्द्र बहादुर अर्याल विभिन्न राजनितिक दलका नेता,संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । दुई दिन सम्म चल्ने गोष्ठीमा ईश्वर जोशीले नगरको सम्भावना र योजनाका विषयमा सहजीकरण गर्ने बताइएको छ । एकिकृत शहरी विकास योजना (आईयूडीपी) अन्तर्गत महालक्ष्मी, सुर्यविनायक, कागेश्वरी, मनोहरा, गोर्कणेश्वर, बुढालिनकण्ठ, टोखा,तारकेश्वर,नार्गजुन,चन्द्रागिरी,दक्षिणकाली,बेलकोटगढी,धुनीवेशी र राप्ती नगरपालिकामा काम भईरहेको छ ।