माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको कामलाई तीव्रता दिन सरकार सम्पूर्ण रुपमा केन्द्रित भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा ढिलाइ हुन नदिन सरकारले ‘हरेक दिन हरेक क्षेत्रमा एक कदम अगाडि’ बढने अभियान नै सञ्चालन गरिरहेको दावी पनि गरे ।
सोमबार चीन सरकारले विस्तार गरी हस्तान्तरण गरेको काठमाण्डौको कोटेश्वर ( कलंकी सडक खण्डको उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई अघि बढाउन सहज वातावरण बनाई दिन पनि सम्बन्धित मन्त्रालयलाई कडा निर्देशन दिए।
कार्यक्रममा चिनिया राजदुत होऊ यान्छीले सो सडकखण्ड विस्तारको काममा बिजुली पोल हटाउने लगायतका थुप्रै समस्या भएको उल्लेख गरेपछि प्रधानमन्त्री ओलीले आइन्दा त्यस्ता खालका समस्या आउन नदिन मातहतका निकायलाई सचेत गराए ।
उनले सरकारले विकास निर्माणको काममा तीव्रता दिन दुवै छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धलाई अझै मित्रवत बनाएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले जनताको तीव्र आर्थिक विकासको आकांक्षालाई सम्बोधन गर्न पनि सरकारले वैदेशिक लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी परिचालन गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।