आफ्नै कार्यकर्ताले गगनलाई कालोझण्डा किन देखाए ?

Post Thumbnail

माघ २१,पोखरा । नेपाली कांग्रेस नेता गगन थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ।

सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसले सोमबार पोखरामा गरेको विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्ने क्रममा स्वयं आफ्नै पार्टीका नेतालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो।

गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो।

सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो। थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगनले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गरेको छ।

‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा सार्वजनिक गरेका छन्।

पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाहीको लागि झन् पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको हुन सक्ने कांग्रेस निकट नेताहरुको भनाइ छ।

नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनिक विदाको दिन शनिबार भएको विरोध प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ परेका थिए । आफ्ना विद्यार्थी नेता पक्राउ परे लगत्तै घटनाको जिम्मेवारी नेविसंघले लिएको थियो।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार जारी गरेको विज्ञप्तिमा विद्यार्थी नेतालाई विनासर्त रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्।

पोखरामा भएको सरकार विरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सभा सदस्य एवं कांग्रेस नेता कुमार खड्का, विन्दु कुमार थापा लगायतले सम्बोधन गरेका थिए।

वक्ताहरुले सरकार जनताको इच्छा चाहनालाई कुल्चँदै निरंकुश बन्दै गइरहेको आरोप लगाएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याए प्रतिपक्षि कांग्रेस सडक र सदनबाट सरकारलाई दबाब जारी राख्ने कांग्रेस नेताहरुको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस