चैत्र १२,धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन ।
जनकपुरधाममा सोमबारदेखि शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
विश्वको अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश नं २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीलाई विशेष स्थान दिने बताए । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे।
प्रतियोगिताको उद्घाटन सत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलीप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए । यही चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौँ तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा आठ टोली सहभागी छन् ।