रश्मि आचार्य:
त्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको एक वर्ष पुगेको छ । अनेकौँ फुट र विभाजनबाट रन्थनिँदै अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलनमा यो एकताले नयाँ तरंग ल्यायो पनि । तर, जुन उचाइमा पुगेर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भयो, त्यही स्तरबाट त्यसपछिको पार्टी गतिविधि अगाडि बढेको छैन । एकताले संसद्मा दुईतिहाइनजिकको ‘ऐतिहासिक सहजता’ र ६ प्रदेशमा नेकपाको सरकार त दियो, तर राष्ट्रको जीवनमा परिणाममुखी नतिजा निकाल्न भने सकेको छैन । जनताको दैनिकी सुधार्ने महाअभियान पार्टीले कसरी चलाउला ? तस्बिर अझै प्रस्ट देखिएको छैन । एक वर्षबीच सुधार नआएकै हो कि आएर पनि नदेखिएको हो ? वस्तुनिष्ठ समीक्षा जरुरी छ ।
इतिहास भन्छ, जतिवेला विश्वभर कम्युनिस्ट विचार ढलेको ढ्वाङ फुकियो, त्यति नै वेला नेपालमा मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद (जबज)को कार्यक्रम एमालेले अगाडि बढायो । यही कार्यक्रमको जगमा ०५१ को मध्यावधि निर्वाचनपछि नेपालमा पहिलो कम्युनिस्ट सरकार बन्यो । यी कम्युनिस्टले के नै पो गर्लान् र ? एकपटक हेरौँ न त ! भनेर कम्युनिस्टविरोधीले एमालेलाई जोख्न खोजे । जोख्न खोज्नेलाई मुखभरिको जवाफ दिँदै मनमोहन अधिकारीको नेतृत्वमा एमालेले नमुना सरकारको अमिट रेकर्ड कायम ग¥यो । यस अभ्यासले कम्युनिस्ट प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी जनताबाट अनुमोदित हुँदै लोकप्रिय सरकार सञ्चालन गर्न सक्षम छन् भन्ने नयाँ मानक स्थापित ग-यो । जनताबीच कम्युनिस्टको लोकप्रियता ह्वात्तै बढ्यो ।
अर्को कोणबाट हेर्दा सशस्त्र युद्धमा होमिएको कम्युनिस्ट पार्टीको सफल अवतरणसहित मूलधारमा स्थापित भएको अनुपम उदाहरण उद्घाटित गर्दै नेपालको माओवादी जनयुद्धले अर्को नयाँ इतिहास रच्यो । जितनजिक पुगेका विश्वका यस्ता कैयौँ युद्ध एकाएक परास्त भएका वा समाप्त पारिएका बग्रेल्ती दृष्टान्तसामु नेपालमा भने भिन्न दृश्य देखियो । यो युद्धले पूरै जित्यो कि जितेन ? शान्तिपूर्ण संघर्षको बाटो अँगालेर एउटा कम्युनिस्ट पार्टी लोकप्रियताको शिखरमा पुगेको वेला अर्को कम्युनिस्ट पार्टीले सशस्त्र संघर्ष गर्न जरुरी थियो कि थिएन ? बहसको विषय बन्ला, तर माओवादीले युद्ध नलडेको भए के यति छिटै गणतन्त्र आउँथ्यो ? नयाँ संविधान बनेर देश पुनर्संरचनाको मार्गमा जान्थ्योे ?
जब शान्तिपूर्ण र सशस्त्र संघर्षरत दुवै पक्षबीच बाह्रबुँदे समझदारी हुँदै सहकार्यको बाटो अपनाइयो, त्यही फ्युजनले नै गणतन्त्रको बाटो सुनिश्चित ग-यो । बाह्रबुँदे समझदारीको मूल जग एमाले र माओवादीबीच रोल्पामा भएको आठबुँदे सहमति नै थियो । यही मिलनबिन्दुदेखि नै दुवै पक्षले एक–अर्काको अस्तित्व स्वीकार गरेको पाइन्छ । २१औँ शताब्दीको जनवाद भन्दै रूपान्तरण प्रक्रियामा सामेल भएको माओवादीले हेटौँडा महाधिवेशनबाट विधिवत् तवरले नयाँ कोर्स सुरु गरेपछि एमाले र माओवादीलाई एक ठाउँमा आउने बलियो आधार तयार भयो । ढिलै भए पनि उनीहरू अन्ततः एक ठाउँमा आए ।
यसरी हेर्दा एकै समयमा शान्तिपूर्ण संघर्षमा एउटा कम्युनिस्ट पार्टी अब्बल भएको र अर्को सशस्त्र युद्धमार्फत शक्तिशाली बनेको विश्वकै बिरलै संयोग नेपालमै स्थापित भयो । निर्वाचनमा कहिले एउटा त कहिले अर्को पहिलो बन्यो । एक–अर्कालाई कम्युनिस्ट नै नदेख्ने एकांकी चिन्तनसमेत यदाकदा देखियो । संघर्ष र रूपान्तरणको कार्यनीतिमा सामेल हुँदै गर्दा केही निषेधकारी घटना पनि भए । विचारमा तात्विक भिन्नता घट्दै गएर अनेकौँ हन्डर खाएपछि जब उनीहरू एक ठाउँमा आइपुगे, तब चुनावी तालमेल हुँदै पार्टी एकता नै भयो ।
यस्तो गौरवमय गाथा र क्रान्तिका भिन्न अनुभव बटुलेका दुई विशाल पार्टी आज एक भएका छन्, तर उनीहरूले विगतमा आर्जेको प्रभाव, ऊर्जा र सामथ्र्य बढ्नुको सट्टा घटेको जस्तो देखिँदै छ । उनीहरूका सबल पक्षबीच अन्तरघुलन भएकै छैन । उनीहरूले बेग्लाबेग्लै हुँदा स्थापित गरेका सकारात्मक मानक बिस्तारै खिइँदै छन् । नराम्रा पक्ष झांगिँदै छन् । एकवर्षे यात्रामा यो सबैभन्दा डरलाग्दो पक्ष हो । कहाँ गयो हिजोको ऊर्जा ? कता सेलायो पार्टी भावना ? केले खुम्च्यायो समर्पणको भाव ? कुन बादलले छोप्यो इमानदारी, निष्ठा र नैतिकता ? कठोर समीक्षा जरुरी छ ।
संगठन : एक वर्षमा नेकपाको संगठनमा ‘ऐतिहासिक सुस्तता’ देखियो । केन्द्रीय कमिटीको एक, स्थायी कमिटीका दुई र पछिल्लो समयमा प्रदेश कमिटीको शपथग्रहणबाहेक गणनायोग्य सांगठनिक उपलब्धि केही पनि भएन । एघारौँ महिनाको सकसपछि ‘पुनः मुसिको भवः’को व्यथामा जिल्ला कमिटीले नेतृत्व पाए पनि मातहत कमिटीको एकता प्रक्रिया अझै टुंगिएको छैन । जनसम्पर्कका केन्द्र र नर्सरी मानिने जनसंगठन अस्तव्यस्त छन् । काम गर्न चाहनेले पनि काम पाएका छैनन् । आठ लाख सदस्य भूमिकाविहीन छन् । तेज गति चाहिएका वेला यस्तो सुस्तताले पार्टी जीवन शिथिल भएको छ ।
जब संगठन नै छैन, तब विचारको बहस कहाँबाट सुरु होस् ? पार्टी र सरकारका राम्रा कामको प्रचार पनि कसरी होस् ? उनीहरूविरुद्ध फैलाइएका भ्रमको चिरफार कसले गरोस् ? पार्टी र सरकारलाई सही बाटोमा हिँड्न कसरी दबाब परोस् ? जनप्रतिनिधिका खराब पक्षमाथि पार्टीले कसरी नियन्त्रण गरोस् ? जब जनतासँग पार्टी कमिटीको र पार्टी कमिटीसँग नेतृत्वको सम्बन्ध जीवित रहँदैन, तब कसरी जनपक्षीय विचार निर्माण होस् ? एकताको बाँकी काम हप्तादिनभित्र सकेर हरेक सदस्यलाई उनीहरूको विशेषताअनुसारको जिम्मेवारी दिन अब एक मिनेट पनि ढिलाइ गर्नुहुँदैन । आफूनिकट दुई–चारजनालाई जिम्मेवारी सुम्पने मनसुवामा सिंगो पार्टी जीवनलाई बन्धक बनाउने प्रवृत्ति अंगीकार गर्नुहुँदैन ।
विचार : एक वर्षसम्म नेकपाको कुनै राजनीतिक दस्तावेज प्रकाशित हुन सकेन । पार्टीभित्र यतिवेला विचारको बहस शून्य छ । नेपाली विशेषताको समाजवाद स्थापनाका लागि पार्टीको आजको कार्यक्रम के हो ? रणनीति र कार्यनीति के–के हुन् ? वर्गशत्रु को–को हुन् ? नेपाली समाजको अन्तरविरोधको अवस्था के हो ? वर्गसंघर्षको स्वरूप के हो ? आजको पार्टीका मुख्य कार्यभार के–के हुन् ? सरकारको योजना, नीति तथा कार्यक्रम नै विचार हो कि पार्टीको फरक दृष्टिकोण छ ? यी सवालमा पार्टीले अब ढिलो नगरी सुस्पष्ट र संगठित धारणा बनाउनैपर्छ ।
पार्टीसँग विचारको कमी भएर यस्तो भएको होइन । नेपाली धर्तीमा प्रयोगसिद्ध उत्कृष्ट विचारले पार्टी दीक्षित छ । ती विचारले नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, बाँकी विश्वलाई समेत दिशाबोध गर्न सक्छन् । विगतलाई सही तरिकाले संश्लेषण गर्दा पार्टीलाई पुनर्जागृत गर्न शताब्दियौैँ डो-याउने विचार खोज्न अन्यत्र जानैपर्दैन । यसका लागि पार्टीभित्र घनिभूत वैचारिक बहस जरुरी छ । कम्युनिस्ट पार्टीको मुख्य हतियार विचारलाई पछाडि धकेली अरू जे हतियार उठाए पनि न त त्यसले पार्टीलाई बचाउन सक्छ, न त देश नै बन्न सक्छ ।
विज्ञान र प्रविधिले फड्को मारेको आजको युगमा पार्टीका विचार र कार्यक्रम युग र धर्तीसापेक्ष हुनैपर्छ । जबज र २१औँ शताब्दीको जनवादको जगमा टेकेर माक्र्सवाद र लेनिनवादको प्रकाशमा हुर्कने विचारले मात्रै नेकपालाई सही दिशाबोध गर्न सक्छ । विचार जतिसुकै राम्रो किन नहोस्, त्यो आफैँ दौडँदैन र त्यसले जनतालाई जादुमय तरिकाले प्रभावमा पनि पार्न सक्दैन । विचार निर्माणसँगै त्यसलाई दौडाउन आलोचनात्मक चेतयुक्त पुस्ता र गतिशील संगठन अपरिहार्य हुन्छ ।
सरकार : हुन त अहिलेको सरकार अघिल्ला सरकारजस्तै एउटा सरकारलाई विस्थापित गरेर अर्को बनेझैँ गरी आएको होइन । एउटा फरक व्यवस्थाबाट अर्को फरक व्यवस्थामा फड्कोपछि अर्थात् क्रान्तिका उपलब्धि संस्थागत गर्ने युगीन दायित्व लिएर यो सरकार आएको छ । संघीय व्यवस्था, तदनुरूप कानुन तर्जुमा र जनशक्ति विकास तथा विन्यासमा सरकार केन्द्रित हुनैपर्छ । मूलतः क्रान्तिपछि शासन गर्ने तरिका फेरियो कि फेरिएन भन्ने प्रश्नमा सरकारले फरक पहिचानसहित अब्बलता प्रमाणित गर्नैपर्छ ।
सरकार भन्दै छ— काम गर्ने तरिका बदल्छु, तर तरिका खासै फेरिएको छैन । सरकार भन्छ— भ्रष्टाचार नियन्त्रण गर्छु, तर भ्रष्टाचारी कत्ति पनि डराइरहेका छैनन् । सरकार भन्छ— जनतालाई छिटोछरितो सेवा दिन्छु, तर जनताले पाउने सास्ती र हैरानी उस्तै छ । यस्तो किन भइरहेको छ ? दुईतिहाइको बलियो सरकारसँग भ्रष्टाचारी किन डराएनन् ? विशेष धातुले बनेका कम्युनिस्टसँग बिचौलिया थरर काँप्नुपर्ने, किन काँपेनन् ? दलालको क्याम्पमा भागदौड किन मच्चिएन ? हिजो सेटिङमा रोकिएका काम आज फटाफट किन भएनन् ? जनमानसका प्रश्न यस्तै छन् । शक्तिशाली कम्युनिस्ट पार्टी बनेको एक वर्षसम्म पनि किन सकारात्मक परिणाम निस्केन ? के कम्युनिस्टको विशेष धातु मलुवा भएकै हो र ?
बिगतमा मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकार र प्रचण्ड नेतृत्वको पहिलो नौमहिने सरकारसँग यस्ता प्रवृत्ति अलिक डराएको सुनिन्छ । तीबाहेकका सरकारलाई बिचौलिया, दलाल र भ्रष्टाचारीले टेर्नै छाडे । भयानक कमजोरी, कानुनको बर्खिलाप र राष्ट्रघात हुँदा त कसैलाई कारबाही नभएको विगतका दृष्टान्त एक होइन, अनेक छन् । बरु उल्टै कसले के गर्छ ? केले मुख टाल्नुपर्छ, राम्रोसँग थाहा छ, मिलिहाल्छ नि ! भन्ने मनोभावना भाइरसको रूपमा फैलिएको छ ।
दुई विशाल पार्टी एक भएका छन्, तर उनीहरूले विगतमा आर्जेको प्रभाव, ऊर्जा र सामथ्र्य बढ्नुको सट्टा घटेको देखिँदै छ, उनीहरूका सबल पक्षबीच अन्तरघुलन भएकै छैन
अस्थिर र कमजोर सरकारलाई उनीहरूले नटेर्नु अनौठो भएन, तर शक्तिशाली सरकारलाई पनि नटेर्नु उदेकलाग्दो छ । देश सरकारले चलाउँछ कि अरू कुनै अदृश्य शक्तिले ? गम्भीर प्रश्न उब्जिएको छ । यसर्थ, गहिराइमा पुगेर तथ्य पत्ता लगाउन आवश्यक छ । आफ्नै टाउकोमा आगो झोसेर कठोर समीक्षा नगरी यस्तो घनचक्करबाट मुक्ति मिल्दैन ।
संस्कृति : समाज रूपान्तरण कम्युनिस्टको अर्को मुख्य कार्यभार हो । समाजका कुरीति, कुसंस्कार र बेथितिविरुद्ध जेहाद छेड्नु उनीहरूको दायित्व हो । तराईमा दाइजो, सुदूरपश्चिममा छाउपडी र देशैभर बोक्सीको आरोपमा महिलामाथि भइरहेका अत्याचार मानवताविरुद्धका कलंक बनेका छन् ।
रीतिरिवाजका नाममा जन्तीबसको ताँती, लाखौँलाखको भोजभतेर चलिरहेकै छ । उदाहरणका लाति अस्ति भर्खरको प्रसंग हो । छोराको ब्रतबन्ध भोजमा काठमाडौंका एक कमरेडले २० लाखजति खर्च गरे । उनले धेरैजसो कमरेडलाई नै भोज खान बोलाए । जो–जो गए, उनीहरू सबैलाई लाग्यो, उसकोमा त आएर खाइयो, आफूले पनि बोलाउनैप¥यो । आज समाजमा यस्तो होडबाजी चलिरहेको छ, त्यसमा पनि समाज परिवर्तनको कसम खाएका कम्युनिस्टबाटै । जसरी हुन्छ पैसा कमाउने र सक्नेले त खुवाउलान्, तर नसक्नेले के गर्ने ?
दुःखद पक्ष यो छ कि देशमा राजनीतिक परिवर्तन त भयो, तर सामाजिक जीवनमा परिवर्तन कहिल्यै आएन । समाजिक सांस्कृतिक जागरणका अभियन्ता बन्नुपर्नेहरू नै आज समाजमा विद्यमान कुसंस्कार र बेथितिको भरिया बन्ने क्रम बढ्दो छ । समाज बदल्ने होइन, कमरेड उल्टै बदलिने क्रम तीव्र छ । यो तरिकाले सामाजिक र सांस्कृतिक जागरण सम्भव छैैन । जबसम्म सामाजिक र सांस्कृतिक बदलाव आउँदैन, तबसम्म राजनीतिक क्रान्तिले पूर्णता पाउँदैन ।
समाजमा सदियौँदेखि जरो गाडेर बसेका कुरीति, कुसंस्कार र बेथिति सानोतिनो धक्काले उखेलिँदैनन् । यिनलाई उखेल्न नेपाली विशेषताको सांस्कृतिक क्रान्ति जरुरी छ । आजको सन्दर्भमा नेकपाबाहेक अरूले यो युगीन दायित्व वहन गर्न सक्दैनन् । सामाजिक–सांस्कृतिक क्रान्ति सफल नभई ‘सुखी नेपाली समृद्ध नेपाल’को आर्थिक क्रान्ति अगाडि बढ्नैसक्दैन । अब नेकपाले अर्जुनदृष्टि यता पो लगाउने कि !
(आचार्य अनेरास्ववियु उपाध्यक्ष हुन्)