‘भक्तपुरमा विकासको लहर फैलिएको छ, गुण्डूको विकास देखेर सबै चकित छन’ : सांसद बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ५,भक्तपुर । प्रतिनिधि सभका सदस्य महेश बस्नेतले लोकतन्त्रमा सबैको सम्मान गर्नुपर्ने बताएका छन । उनले लोकतन्त्र भनेको अराजकतन्त्र नभइ जनतालाई आफूलाई लागेको अधिकारलाई स्वस्फूर्त ढंगले प्रकट गर्न पाउने व्यवस्था भएको बताएका हुन ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने गोकुलघाट खोला पुल उद्घाटन गर्दै बस्नेतले आफ्नो अधिकार सुनिश्चित गराउँदा अरुको अधिकार हनन् गर्ने अधिकार लोकतन्त्रमा नहुने धारणा राखे ।

बस्नेतले प्रतिपक्षहरुले बोकेर हिड्ने केही पनि एजेण्डा नभएको बताउँदै भने, ‘प्रतिपक्षले अहिले समाउने केही नपाएर जे पायो त्यसैलाई समाउँदै हुनुहुन्छ । उहाँहरुको अवस्था देखेर कहिलेकाहिँ त आफूलाई दया लागेर आउँछ ।’

सांसद बस्नेतले गुठी सम्बन्धी विधेयकका बारेमा आम नागरिकलाई बुझाउन नसक्नुमा सरकारको पनि कमजोरी रहेको बताउँदै भने, ‘गुठी सम्बन्धी विधेयकमा भएका स्पष्ट कुरालाई जनतासँग पु¥याउन नसक्नु सरकारको पनि कमजोरी रह्यो । अब यसका सरोकारवालाहरुसँग सरकार बस्नेछ र गुठीसँग सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्नेछ ।’

मंगलबार संसदमा प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोल्न नदिनु असंसदीय गतिविधि भएको बताउँदै सांसद बस्नेतले प्रधानमन्त्रीले सभामुखसँग समय लिएर सदनमा बोल्छु भन्दा बोल्न नदिने गतिविधि संसारकै इतिहासमा संसदीय अभ्यासको विरुद्धमा भएको बताए ।

सांसद बस्नेतले भने, ‘नेपालको संसदीय इतिहासमा मंगलबार जे घटना घट्यो यसले आफूलाई लोकतन्त्रको मूल ठेकेदार ठान्ने नेपाली काँग्रेस आफैपनि लोकतन्त्रको विरुद्धमा छ भन्ने छवि बनाएको छ ।’
आफ्नो गृह जिल्ला भक्तपुरमा विकास निर्माणको दृृष्टिकोणले मुलुककै अग्रगतिमा रहेको बताउँदै सांसद बस्नेतले देशभरिका विकास हुने जिल्लामा भक्तपुर अगाडि रहेको बताए ।

विगतमा भक्तपुरको विकास निर्माणमा बेरुजु, ठेकेदारको लापरबाही जस्ता चुनौतीहरु विद्यमान रहेतापनि अहिले यस्तो प्रबृत्तिलाई निरुत्साहित गरिएको समेत बस्नेतले बताए । उनले भने, ‘हामी राम्रो काम गर्ने सम्मान र नराम्रो गर्नेलाई दण्ड सजाय गर्न समेत पछाडि पर्दैनौ ।’

जिल्लाको सूर्यविनायक नगरपालिका प्रत्येक वडामा यो बर्षमा कम्तिमा पनि २० करोड बराबरको विकास निर्माण सम्पन्न भएको बताउँदै बस्नेतले अघिल्लो बर्ष ७ वटा पूल निर्माण गरिएको र यो बर्षपनि डोलिडार र भौतिक योजना मन्त्रालयको सहयोगमा अर्को ८ वटा पूल निर्माण हुने बताए ।

जिल्लाको विकास गतिलाई हेर्दा आफूलाई कहिलेकाहिँ अचम्म लाग्ने बताउँदै सांसद बस्नेतले भने, ‘कहिलेकाहिँ म आफै सोच्छु मैले सोचेको भन्दा पनि बढी काम भएको छ । भक्तपुरमा एउटा विकासको लहर फैलिएको छ ।’

१५ बर्ष अगाडि जिल्लाको विकट ठाउँ भनेर चिनिने गुण्डूको विकास देखेर सबै चकित पर्ने गरेको बताउँदै सांसद बस्नेतले केही बर्षको अन्तरालमा आफ्नो गाउँ आउने जो कोहीले पनि भक्तपुरको मुहार फेरिएको अनुभव गरेको बताए ।

उनले भने, ‘३/४ बर्ष पछि कोही आफ्नो गाउँ फर्किएको छ भने उसले आफ्नो गाउँ चिन्दैन । यो ढंगको परिवर्तन भक्तपुरमा भएको छ ।’

भक्तपुरको यो परिवर्तन देखेर कतिपयलाई जलन भएको बताउँदै सांसद बस्नेतले भने, ‘जो विपक्षको मनमा हरि छ उसले विरोध गरेको छैन । जसको मनका हरि छैन, अपराधिक मनोबृत्ति भएकाहरुले सबैको विरोध गरेका छन् ।’

सांसद बस्नेतले केही छिटफुट प्रतिपक्ष बाहेक सबैको साथमा भक्तपुरको विकास अगाडि बढिरहेको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस