साउन २४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन् । मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन् ।
‘विकास भनेको उत्सव हो, त्यहाँको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने । उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्न समेत आग्रह गरे । मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताए ।
कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको छ । फरक प्रसंगमा मन्त्री भट्टराईले सरकारले अब रफ्तार लिने दाबी गरे । ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ’, उनले भने ।
साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन् ।