महरालाई बाबुरामकाे खुलापत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं ।

प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरंगित त छँदै छ, म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु।

यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु।

१. माओवादी नेतृत्व तहमा हामी (विशेषत: प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं। हामीबीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं। प्रचण्ड र मेरो बीचमा २०५५/५६ मा पहिलो ठूलो वैचारिक/सांगठनिक बहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुई जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं (दुर्भाग्यवश! त्यो बैठक सकेर फर्कनेबित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो)।

पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो। २०७१ सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालोलाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बनाउँदै लग्यो। कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरा-सुन्दरी काण्डले बदनाम भैसकेका थिए। तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ। यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ।

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला। हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पु-याएकै हो। यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ, तर रोजा लक्जेम्बर्गले भनेझैं क्रान्ति स्थिर भएर बस्दैन, कि त त्यो अघि बढाइनु/बढ्नुपर्छ, नत्र त्यो पछाडि हट्छ। त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ। अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्।

यहींनेर हामी चुक्यौं! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ। साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन। त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो।

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ! हामीले एसएलसीमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं। त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ।

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कुलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु:

‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन। अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुका रूपमा प्रयोग गर्नु र सत्ता शक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ।

हाम्रोजस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहीं पुरूष पनि उत्पीडन वा प्रतिशोध/षडयन्त्रकाे जालमा पर्न सक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुन सक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर काुननबमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष साबित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ। त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ।

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ। भनिन्छ- गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो।
तपाईंको शुभेच्छुक
बाबुराम

ताजा अपडेट

खोजी गर्नुहोस