कार्तिक २२, काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ ।
सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको अगुवाईमा लैनचोरस्थित भारतीय दूतावास अगाडि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो ।
साे क्रममा प्रदर्शनकारीहरुले गो ब्याक इण्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले दूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
भारतले गत आइतबार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा लिपुलेकसहितका नेपाली भूभागलाई आफ्नो नक्सामा समेटेपछि मुलुकका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ ।
राजधानीमा शुक्रबार बिहानै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो । सरकारले भारतको उक्त नक्सा नेपाललाई अमान्य हुने बताइसकेको छ ।