बाँदरको समस्या समाधान गरिदिनेलाई मतदाताले भाेट दिने

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २९, कास्की । पोखरा महानगरपालिका-२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

नेपाली काङ्ग्रेसद्वारा बिहीबार आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए ।

भलाम र डाँडाखोरका झण्डै ३०० घरमा घरदैलो गरेका काङ्गेस उम्मेदवार खेमराज पौडेलले धान काट्दै गरेका कृषकसँग पनि भेट गरी मत मागे।

धान थन्क्याउने चटारोका कारण काममा नै व्यस्त देखिएका भलाम खोर र शेराखेतका कृषकले बाँदरको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।

आफूहरूले बाँदरको समस्या धेरै ठाउँमा सुनाए पनि समाधानका लागि कसैले पहल नगरेको उनीहरुको गुनासो थियो ।

काङ्ग्रेसको दोस्रो चरणको कार्यक्रमअन्तर्गत पोखरा–२० भलाममा घरदैलो कार्यक्रम गरेको कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए।

पार्टीले पोखरा महानगरपालिकाका वडा नं ७, ९, ११, १६, ३३ लगायतका वडामा निर्वाचन लक्षित कार्यक्रम गरिरहेको उनले बताए।

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ।

ताजा अपडेट

खोजी गर्नुहोस