‘संघीय व्यवस्थामै चुनौती देखा परेको छ’: अध्यक्ष प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २०, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २०, कैलाली । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखा परेको बताएका छन् ।

शुक्रबार धनगढीमा ‘सुदूर पश्चिम वित्तीय सम्मेलन’मा सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदा गर्न नसक्नु आफूहरुको ठूलो कमजोरी भएको पनि बताए ।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गरेका प्रचण्डले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताए ।

उनले कर्मचारीहरु नयाँ व्यवस्थामा काम गर्नै नसक्ने खालका भएको पनि आरोप लगाए । प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पुरानो संरचनामा काम गरेका हाकिमहरुको एउटा लेयरलाई सम्मानजनक रुपमा बिदा गर्नुपर्थ्यो । तपाईँहरु पुरानो स्कुलको मान्छे पर्नुभयो । हामी नयाँ स्कुलका मान्छे पर्यौँ । हामीले साह्रै ठूलो परिवर्तनको घोषणा गर्‍याैँ, तपाईँहरुलाई बुझ्न गाह्रो हुन्छ भन्दै उहाँहरुलाई बिदा गर्नुपर्थ्यो । ’

प्रचण्डले नयाँ व्यवस्थामा पुराना कर्मचारीलाई हटाएर आफूहरुले नयाँ र सक्षम कर्मचारी ल्याउन नसकेको बताए । उनले भने, ‘हामी तपाईँहरुको ठाउँमा आफूले भनेका मान्छे ल्याउँथ्यौँ । गोल्डेन ह्यान्डसेक वा अरु केही दिएर उहाँहरुलाई सम्मानपूर्वक रुपमा बिदा दिनुपर्थ्यो । तपाईँहरु बिदा भएर घर घर जानुस् अरु पेशा गर्नुस् भन्नुपर्थ्यो । सुरुमै सम्झौता नै गरेर बिदा गर्नु पर्थ्यो । मैले नै गर्न सकिनँ । अरुलाई के भन्नू । गर्न त सबैभन्दा बढी मैले गर्नुपर्थ्यो । सबैलाई बिदा गर्न गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री मै भएको थिएँ । तपाईँहरु हुन्न भन्न सकिनँ । अहिले यसो हेर्दा संविधानअनुसार चल्न पर्यो भन्दा नमान्ने कर्मचारीलाई बिदा गर्न नरोक्नु पर्ने हो नि । तर हामी त्यसो गर्न सकिरहेका छैनौँ । बरु कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा दिइएको अधिकार पनि संघतिरै लैजाने काम भएको छ ।’

प्रचण्डले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाए । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताउँदै प्रचण्डले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस