मंसिर २१,काठमाडौँ । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डुमा दुई लाख बराबरको क्षमताको वृहत खानेपानी ट्याङ्की तथा पाइपलाई विस्तारको शिलान्यास भएको छ । गुण्डु खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको आयोजना तथा वडा नं. ७ को संयोजनमा उक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको ६० लाख र उपभोक्ताको तर्फबाट (काठमाडौँ वल्र्ड स्कुल)को ४० लाखमा आगामी तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज सांसद बस्नेत तथा नगरप्रमुख बाशुदेव थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको कुनै पनि विकासमा कोही बाधक नभई साधक बन्न आग्रह गर्दै बाधक तथा निर्माण कार्यमा ढिलाई गरे जनआक्रोस उसैमाथि खनिने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै यो वा त्यो बहानामा कसैले पनि विकासलाई रोक्ने र ढिलाई गर्ने कार्य नगर्न समेत सुझाव दिए ।
गुण्डुको वृहत विकास र हितको निम्ती उक्त आयोजना भएको उल्लेख गर्दै उनले भक्तपुरमा जनताको सरोकारका कामहरु गर्ने संकल्प लिएको र जनाताको इच्छा र चाहना अनुसारका कुनै पनि विकास निर्माणका कार्य गर्न आफु पछि नपर्ने समेत उद्घोष गरे । गुण्डुमा धेरै खानेपानी उपभोक्ता समिति रहेको र त्यसलाई एकिकृत गर्न जरुरी रहेको औल्याउँदै वृहत खानेपानी उपभोक्ता समितिको निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले उक्त आयोजना भक्तपुरको लागि नमुना र उदाहरणीय बन्नेमा विश्वास व्यक्त गरे ।
भक्तपुरको विकास मिक्स तरकारी जस्तै भएको उल्लेख गर्दै उनले भक्तपुरमा विकल्प माथिको विकल्पको रुपमा सडकको विकास गर्ने योजना रहेको जानकारी गराए । नगरपालिका, प्रदेश, संघ, सडक, मेलम्ची, उपत्यका विकास प्राधिकरण, भौतिक मन्त्रालय‘ बाट बजेट ल्याई काम अघि बढाइएको जानकारी गराउँदै उनले हात्ती गौडालाई मर्निङ वाक स्पोर्ट र खेल मैदानको रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको जानकारी गराए ।
तीन महिना भित्रमा उक्त आयोजना निर्माण सम्पन्न भईसक्ने विश्वास व्यक्त गर्दै उनले विकासमा प्राणी उद्यान केन्द्र बाधक नभई साधक बन्नलाई अनुरोध समेत गरे । सरकारी काम कारवाही ढिलाई हुने गरेको तर नीजि क्षेत्रको काम तिव्र गतिमा हुने गरेको समेत उनले उल्लेख गरे ।
प्राणी उद्यान निर्माणको लागि बन मन्त्रालयले काम ढिला गरेकाले आशा गरे जती काम नभएको बताउँदै उनले प्राणी उद्यान र बन डिभिजनका कारण बजेट आउन केही ढिलाई भएको जानकारी गराए ।
सूर्यविनायक चोकदेखी गणेस्थान हुँदै कृष्ण मन्दिरसम्मको १५ मिटरको सडक निर्माण भईरहेको जानकारी गराउँदै उनले विकास निर्माणमा आउने कुनै पनि समस्या तथा चुनौतिलाई समाधान गर्न जनप्रतिनिधि तयार रहेको समेत उल्लेख गरे । उनले जनताको चाहना र आवश्यकता अनुसारको विकास गर्दा मुद्धा लागे त्यसलाई व्यहोर्न तयार रहेको समेत उद्घोष गरे ।