मंसिर २५, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–२ मा अवस्थित अमर माध्यामिक विद्यालयको नव निर्मित २१ कोठे भवन नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सोमबार हस्तान्तरण गरेका छन् ।
तामाकोसी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोख्रेललाई एक भव्य कार्यक्रमका बिच झुलेमा विद्यालयको चावी हस्तान्तरण गरेका हुन् ।
डा.कोइरालाबाट प्राप्त चावी गाउँपालिका प्रमुख पोखरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबाबु कार्कीलाई हस्तान्तरण गरेर विद्यालय भवन संचालनको स्वीकृति प्रदान गरे ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक तिर्थ बहादुर पौडेलले गरेका थिए भने स्वागत मन्तव्य व्यवस्थापन समितिका सदस्य भवेन्द्र कार्कीले राखे ।
कार्यक्रममा नेकपा दोलखाका अध्यक्ष एवं तामाकोसी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोख्रेल, नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्र खड्का लगायतका नेताहरुले सम्बोधन गरे ।
कार्यक्रममा काङ्ग्रेस नेताहरु देवी प्रसाद न्यौपाने, ईश्वर मानन्धर, बर्मा लामा, वालकृष्ण आचार्य, विनिता काफ्ले, युधिस्ठिर खडका समेतले सम्बोधन गरे । कार्यक्रममा नेकपा ३ नम्वर प्रदेस सदस्य वसन्तराज कार्की र जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा प्रमुख देवकुमार बरालले पनि आफ्नो मन्तव्य राखे ।
एसियाली विकास वैँकको ऋण सहयोगमा ४ करोड ,४८ लाख ७० हजार रुपैयाँ लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको हो ।
समारोहमा विद्यालयका सँस्थापक स्वर्गीय अमर बहादुर कार्की र श्रीमती रत्न कुमारी कार्कीको नाममा एक लाख पचास हजार रुपैयाँको छात्रवृत्ति कोष पनि घोषणा गरिएको छ ।
अमर माध्यमिक विद्यालय २००८ सालमा अमरबहादुर कार्कीले आफ्नो निजी लगानीमा स्थापना गरेका थिए । अमर बहादुरका छोरी जुवाइँ कमलामाइ नगरपालिका– ५ सिन्धुली निवासी मेनका थापा र दिलिपजंग थापाले आफ्ना मातापिता(सासू ससुरा)को नाममा सो कोष स्थापना गरेका हुन् ।
एक लाख पचास हजार रुपैयाँको अक्षय कोषबाट प्राप्त ब्याज गरिब तथा जेहेन्दार विधार्थीको लागि प्रोत्साहन स्वरुप प्रत्येक वर्ष वितरण गरिने छ । काङ्ग्रेसका नेता एवं अमर माध्यमिक विद्यालयका पुर्व शिक्षक आदर्शवान नेता स्वर्गीय भीमबहादुर तामाङको सातौं पुन्य स्मृतिमा रक्त दानकार्यक्रम समेत जिल्ला रेडक्रस दोलखाको प्राविधिक संयोजनमा सम्पन्न भएको थियो ।
सो अवसरमा डा. कोइरालाले श्रीबाबु कार्कीलाई रक्तदान ब्याग हस्तान्तरण गरेर भीमबहादुर तामाङको जन्म भुमिमा, उनले अध्यापन र नेतृत्व गरेको विद्यालय भवन उदघाटन गर्न पाउँदा आफू धन्य भएको र हर्ष बिभोर भएको बताए ।
रक्तदाताहरूलाई माला र खादा लगाएर कोइरालाले सम्मान व्यक्त गरेका थिए । उक्त अवसर पारेर स्वर्गीय भीम बहादुर तामाङको झुले स्थिति निवासमा कोइराला पुगेर तामाङप्रति कोइरालाले गहिरो सम्मान र श्रद्धाञ्जली अर्पण गरे ।