मंसिर ३०,भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ६ र ७ को संगम स्थल हात्ती गौडामा हरित पार्क तथा फुट ट्रेलको शिलान्यास भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले संयुक्त रुपमा आज शिलान्यास गरेका हुन ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको स्वीकृत योजना अनुसार करिव १ करोडको लागतमा आर्थिक वर्ष २०७६/०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको उक्त पार्क निर्माणसँगै सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई विशेष सहयोग पुग्ने बताइएको छ । भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको उल्लेख गर्दै उक्त पार्कले पर्यटन क्षेत्रमा अझ थप टेवा पुर्याउने विश्वास लिइएको छ । उक्त पार्क सञ्चालनमा आएपछि आर्थिक वृद्धिदर थप गर्ने अर्को महत्वपूर्ण आधार तयार हुने समेत बताइएको छ ।
कपुरको बोटमुनी हिड्दा सुरुङ मार्ग हिडेजस्तो आभास हुने प्रकारको पार्क बन्ने भएको छ । उक्त पार्कको आसपासमा सुइमिङ पुल, ढुङ्गेधारा निर्माण गर्ने, कवोर्ड हल, बास्केट बल खेलमैदान, ओपन जिम, ग्रिन पार्कलगातका महत्वपूर्ण कार्यहरु बन्ने भएको छ । उक्त निर्माणसँगै उक्त स्थानमा निर्माण भएको फुटसलमा प्राक्टिर गर्ने स्थान मात्र नभई राष्ट्रिय स्तरको खेल नै सञ्चालन गर्न सकिने हुनेछ ।
उक्त ठाउँमा भक्तपुरका मानिसको मर्निङ वाल्कको रुपमा स्थापीत हुने भएको छ । उक्त सवै निर्माण कार्यहरु सम्पन्न भएपश्चात पर्यटक तथा खेलप्रेमी महानभावहरुको लागि आवश्यक पर्ने होटल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको औल्याइएको छ । जसमा नीजि क्षेत्रका लगानी कर्ताले आन्तरिक तथा वाह्य पर्यटक तथा खेलाडीको आवश्यक पर्ने होटल लगातको व्यवस्थापन गर्न कुनै समस्या नहुने उल्लेख गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राष्ट्रिय प्राणी उद्यान केन्द्र चार वर्ष अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएको जानकारी गराउँदै उक्त प्राणी उद्यान केन्द्र स्वीकृतको चरणमा रहेको जानकारी गराउँदै उक्त दुई सय ४४ हेक्टर क्षेत्रफलमा निर्माणको क्रममा रहेको प्राणी उद्यान केन्द्रलाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्ने बाटोमा अघि बढ्न सहयोग गर्न सम्बन्धीत निकायलाई आग्रह गरे।
प्राणी उद्यानको रिङ रोडको रुपमा १५ मिटरको सडक निर्माण भइरहेको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले विगतमा उपभोत्ता समिती तथा प्राणी उद्यानबीच भएको २७ बुँदे सहमती सहमति अनुसार नै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्राणी उद्यानसँग जोडिएका ठाउँहरुमा नयाँ सडक निर्माण गर्दा ७० प्रतिशत उद्यानको जग्गा र ३० प्रतिशत स्थानीयवासीको जग्गा लिने सहमति भएको जानकारी गराउँदै उनले उपत्यका विस्तार आयोजनाबाट बजेट समेत व्यवस्थापन भएको तर बन र प्राणी उद्यानको व्यवस्थापनबीच केही समस्या भएका कारण निर्माण कार्यमा ढिलाई भएको समेत उल्लेख गरे ।
भक्तपुर नगरपालिकाले वार्षिक करिव ८० करोड भन्दा बढी रकम उठ्ने गरेको भने प्राणी उद्यानबाट वार्षिक करिव २ अर्व बराबरको रकम उठ्ने बताउँदै उनले त्यसैले सरकारले ८–१० अर्व बजेटको व्यवस्थापन गर्न कुनै हिचकिचाहट गर्नु नपर्ने स्पष्ट पार्नुभयो । उनले भने, ‘आर्थिक वृद्धिदर उच्च बनाउन भक्तपुरमा भएको विकासले सुनको अण्डा पार्ने ठाउँ भएको तर लगानी आवश्यक मात्रामा विनियोजन भएको छैन । प्राणी उद्यानलाई करोडमात्र हैन अरब बजेटको व्यवस्थापन मन्त्रालयले गरे हुन्छ, त्यसबाट सरकारलाई धेरै ठूलो आर्थिक उन्नतीको आधार तयार हुन्छ । उद्यान केन्द्र विकास र समृद्धिको अभियानको एउटा महत्वपूर्ण पक्ष हो ।’
भक्तपुरका जनप्रतिनिधिको मनमा प्राणी उद्यान र बन बाधक भएको भन्ने मनासाय रहेको उल्लेख गर्दै जनप्रतिनिधिको भावनालाई कदम गर्ने तथा सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जनप्रतिनिधि तथा स्थानीयवासीले प्राणी उद्यान कहिले बन्छ भनेर सोधेको सोधै गर्ने र हामीले यो मितिसम्म हुन्छ भन्न नसक्ने जुन अवस्था छ, त्यसलाई तत्काल अन्त्य गर्नुपर्छ ।’
समृद्ध नेपाल निर्माण गर्न सुस्त गतिमा हैन तिव्र गतिमा अघि बढ्नुपर्ने बताउँदै उनले भक्तपुरमा नीजि क्षेत्रले उत्कृष्ट कार्य गरिरहेको जसबाट मुलुकका सवै ठाउँले सिक्नु पर्ने बताए । नीजि क्षेत्रले कुनै पनि आयोजना तिव्र गतिका साथ सम्पन्न गर्ने तर सरकारी आयोजना विभिन्न वहानामा ढिलाई हुने गरेको उदाहरण प्रस्तुत गर्दै यस्ता ढिलाईका कारक तत्वलाई फाल्दै जनताको विकास प्रतिको चाहनालाई पुरा गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।
मन्त्रालयका सचिव ओलीले मुलुकलाई स्वच्छ, सफा, हराभरा पार्क लगायतका कार्यहरु निर्माण गर्ने सरकारले अभियान नै सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि उक्त निर्माण हुने पार्क एक महत्वपूर्ण क्षेत्रको रुपमा रहने विश्वास व्यक्त गरे।
वातावण संरक्षणका निम्ती मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाउँदै उनले तीन वटै सरकारसँग सहयोग र सहकार्य गरी अघि बढ्ने स्पष्ट पारे ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नगरपालिकामा फोहोर फाल्ने ठाउँलाई मोहरको रुपमा विकास गर्दै लगिएको उल्लेख गर्दै आर्थिक समृद्धिको कार्यहरुमा विशेष रुपमा योजनाहरु अघि बढाइएको उल्लेख गरे ।
प्राणी उद्यानका निर्देशक वेदकुमार ढकालले उद्यानले आफ्नो गुरु योजना स्वीकृत गर्ने क्रममा रहेको जानकारी गराउँदै विकास निर्माण तथा सहकार्यमा कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाए ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्राणी उद्यान केन्द्रको निर्माण कार्यमा भएको सुस्तताले जनप्रतिनिधि तथा स्थानीयवासीमा निरासा पैदा भएको उल्लेख गर्दै उक्त निराशालाई तत्काल सम्बन्धीत निकायले समाधानको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।