पौष १४, काठमाण्डौँ । १० मंसिरमा हेटौँडा पुगेका प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरुसँगको करिब पौने घन्टा लामो भेटघाटमा भनेका थिए, ‘प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती उपयुक्त हुन्छ ।’ प्रचण्डले हेटौँडा पुगेर दिएको आश्वासन आइतबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।
आइतबार एक घन्टामात्र सचिवालय बैठक बसेको थियो। संक्षिप्त बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए । बैठकको दृश्य बेग्लै थियो । दायाँतिर रहेका ओलीसँगै रहने गरी बाँयातिर प्रचण्डलाई समानान्तर कुर्सीमा राखिएको थियो ।
त्यसअघि प्रचण्ड सचिवालयका अन्य नेताहरुको लहरमा बस्थे । बैठक सुरु भएलगत्तै दुबै अध्यक्षले छोटो समय भएकाले एउटा मात्र एजेण्डामा निर्णय गर्नुपर्ने भन्दै प्रदेश ३ को राजधानी र नाम टुंग्याउनु पर्ने प्रस्ताव राखे । ‘उहाँहरु दुबैले छलफलमा अरु पनि प्रस्ताव आए पनि राजधानी हेटौँडा र नामांकन बागमती उपयुक्त हुन्छ भन्ने प्रस्ताव गर्नुभो, हामीले पनि समर्थन ग¥यौँ, थप अरु केही भएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने ।