असार २, बुटवल । प्रदेश ५ को प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । यो गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो ।
बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा कोभिड १९ बाट उत्पन्न आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नेलगायत चार उद्देश्य र स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार गरी स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच वृद्धि गर्नेलगायत सात प्राथमिकता रहेको बताए ।
गत वर्ष प्रदेश सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटअन्तर्गत चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् कुल बजेटको ३४ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात् ५१ दशमलब २२ प्रतिशत रहेको छ ।