मुख्यमन्त्रीको स्वकिय सचिवद्वारा पत्रकारलाई अपशब्द प्रयोग ! पत्रकार महासंघ प्रदेश–२ को आपत्ति

Post Thumbnail

-दिपु वर्णवाल                                  

भाद्र ९, जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले पत्रकारलाई समाचार लेखेकै आधारमा ‘भिजिलान्ते’ शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश–२ ले आपत्ति जनाएको छ । मर्यादित पदमा बसेका यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई अमर्यादित शब्द प्रयोग गरी बदनाम गर्ने गरेको कार्यप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले यादवलाई त्यस्ता शब्द तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

‘केही दिनदेखि वैश्विक महामारी कोरोना संक्रमणजस्ता जोखिमको बेलामा पनि जिउ ज्यानको कुनै पर्वाह नगरी राज्यलाई दायित्वबोध गराउने गरी खबरदारीसहित नागरिकलाई सुसूचित गराउन अहोरात्र खट्दै आएका छन्,’ महासंघका प्रदेश महासचिव किरण कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा ती पत्रकारलाई कार्यप्रति प्रोत्साहित गर्नुको सट्टा भिजिलान्ते लगायतका शब्द प्रयोग गरी अपहेलित र बदनाम गर्नु जस्ता हतोत्साहित गर्ने कार्य सरकार पक्षबाटै हुनु दुःखद छ ।’

महासंघ र मधेसी पत्रकार समाजले समाचारप्रति चित्त नबुझे सरोकारवाला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान रहेकातर्फ पनि सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव यादवले पत्रकारहरुलाई अमर्यादित शब्द प्रयोग गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेकोले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन महासंघ र मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले माग गरेको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत पत्रकार महासंघले दिएको छ ।
महासंघले कर्तव्य निर्वाहको क्रममा कोरोना संक्रमित भएर उपचार गराइ रहेका सम्पूर्ण सञ्चारकर्मी सहित आमनागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

मधेसी पत्रकार समाजका अध्यक्ष विरेन्द्र रमणले स्वकीय सचिव यादवद्वारा सामाजिक संजालमा पोष्ट गरेका स्टाटसप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल सो अभिव्यक्ति फिर्ता लिई माफी माग्न भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस