भाद्र १२,हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री शाक्यले सरकारको आयु लम्ब्याउने उद्देश्यले संसद् छलेर अधिवेशन अन्त्य गरेको भन्दै नेपाली काँग्रेसले अन्य दलहरूसँग सहकार्य गरी संसद्को विशेष अधिवेशनको माग गर्ने तयारी भइरहेको बताएका छन् ।
उनले सरकारको नेतृत्व लिएको एक सातामा नै मुख्यमन्त्री अल्पमतमा परेर पछि संसद्लाई नै छलेर सरकार टिकाउने काम गलत भएकाले नेपाली काँग्रेसले सो कार्यको विरोध गर्ने र अन्य दलहरूको सहमतिमा प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग गर्ने बताए ।
संसद् अधिवेशन अन्त्य गर्नै पर्ने परिस्थिति बनेको थियो भने मुख्यमन्त्री शाक्यलाई संसद् बैठकबाटै अधिवेशन अन्त्य गर्न कसैले नरोकेको भन्दै सचेतक लामाले नेकपा एमालेको सरकारले पुरानै परम्परा र जालझेल गर्न नछोडेको बताए ।
सांसदहरुको सरकार प्रतिको अविश्वासको डरले मुख्यमन्त्री शाक्यले हतारमा संसद् अधिवेशन अन्त्य गरेको उनको भनाई छ ।
सरकार अल्पमतमा परे लगत्तै मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठक आह्वान गरी विश्वासको मत लिनु पर्नेमा सामान्य बहुमत गुमाएको सरकार बचाउन संसद् अधिवेशन नै अन्त्य गरेर गलत बाटो अपनाएको सचेतक लामाले बताए ।