जेठ ७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन प्रदेश र संघीय चुनावसम्मै लैजाने बताएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई प्रचण्डको निवास खुमलटारमा बधाई दिँदै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको बताएका हुन् ।
मध्यपुर थिमीमा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो । नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको र जनप्रतिनिधिले जनताको पक्षमा हुनेगरी गरेको कामको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने भएकाले सोही अनुसार काम गर्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।