जेठ ७, विराटनगर । मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।
वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद भएको हो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो ।
यस विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कस्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गरेका छन् ।
खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको देखिएको तर कम्प्युटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेको भनाई छ । काफ्लेका अनुसार पाँच दलले पुनः मतदान गर्नुपर्ने अडान राखेपछि गणना हुन सकेको छैन ।