भाद्र २५,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा महिला नेतृ चुनु केसी खड्का दोलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा सिफारिस भएकी छन् । गठबन्धनको तर्फबाट सिट बाँडफाँडको विषयले चर्चा पाइरहेको बेलामा उनी एकीकृत समाजवादीबाट प्रत्यक्षमा सिफारिस भएकी हुन् । उनले दोलखाका नागरिकहरुले आफूलाई विश्वास गर्ने र बहुमतसहित विजयी प्राप्त गर्ने दाबी पनि गरिन् ।
खड्काले महिलाहरुको क्षमता अभिवृद्धि गर्न, देश विकासका लागि समग्र महिलाहरुको प्रतिनिधित्व गरी आफूले प्रत्यक्षमा उम्मेदवारी दिन लागेको बताइन् । देशको नेतृत्व तहमा पुरुषहरुसँग प्रतिस्पर्धामा आउनका लागि महिलालाई सक्षम बनाउनुपर्ने उनको तर्क छ ।
नेपाली राजनीतिमा महिलाहरुको क्षमता पहिचान गर्न प्रत्यक्ष चुनावमा उठाउन आवश्यक रहेको उनको भनाइ छ । उनी भन्छिन् ‘राज्यले कानुनले र संसदीय व्यवस्थाले महिला नेतृत्व सहज रुपमा स्वीकार गरिसकेको छ । तर पनि केही स्वार्थ समूहहरु महिलालाई नेतृत्व दिन मानिरहेका छैनन् । यो प्रणालीको अन्त्य हुनुपर्छ । महिलालाई सम्मानजनक सहभागिता दिनुपर्छ ।’
खड्का दोलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा सिफारिसमा परे पनि गठबन्धनभित्र सिट बाँडफाँडको कुरा मिलिनसकेकोले सिट कसले पाउँछ भन्ने टुंगो भने लागेको छैन । खड्का भन्छिन् ‘ दोलखाबाट प्रतिस्पर्धीमा म नै हुँ । अब पार्टीको निर्णय के हुन्छ, हेरौँ । संघमा पर्छ वा प्रदेशमा त्यो पनि बाँकी नै छ ।’
७ ओटा गाउँपालिका र २ वटा नगरपालिका गरी ९ ओटा स्थानीय तह रहेको दोलखामा स्थानीय तह निर्वाचनमा तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको थियो ।
प्रदेशसभाको २ ओटा निर्वाचन क्षेत्र रहेको दोलखा ‘क’ बाट यसअघि २०७४ सालको चुनावमा वाम गठबन्धनको तर्फबाट विशाल खड्का विजयी भएका थिए ।