कात्तिक १२,काठमाडौँ । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।
चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् । काउन्सिलमा नेपाल सरकारले अनुदान दिने, स्वास्थ्य मन्त्रालयले समेत विभिन्न कार्यक्रममा बजेट उपलब्ध गराउने भएकाले त्यहाँका पदाधिकारी सार्वजनिक पदमा रहेको हुने भनी निर्वाचन आयोगले निष्कर्ष निकालेको हो ।
उम्मेदवारमाथि दावी विरोध गर्ने समय भन्दा पछि कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीमाथि उम्मेदवार कार्कीको स्पष्टीकरणसमेत लिएर निर्वाचन आयोगमा पठाएको थियो ।
आयोगले काउन्सिल सदस्य भएवापत तोसिमाले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको उल्लेख गरेको छ ।