कार्तिक २८, काठमाडौं । भेरी नगरपालिका–२ रिसाङकी काली कार्कीलाई मतदान गर्ने बारेमा केही जानकारी नै छैन । बिहानदेखि बेलुकीसम्म काममा व्यस्त हुने कार्कीलाई भोट खसाल्ने विधि र प्रक्रियाका विषयमा आफू पहिलो मतदाता भएकाले अनविज्ञ रहेको बताए ।
उनले भने, “अहिलेसम्म आफ्नो घरमा भोट खसाल्ने विषयमा सिकाउन कुनै पनि व्यक्ति आएका छैनन्, सडकको छेउँमै घर भएकाले विभिन्न पार्टीका गाडी यताउति गरेका मात्र देखिन्छन् । कुनै पार्टीका व्यक्ति पनि भोट खसाल्ने विषयमा सिकाउन कोही पनि आएका छैनन् । भोट हाल्नुपर्छ मात्र भन्छन् तर भोट कसरी हाल्ने हो जानकारी दिदैनन् ।”
बारेकोट गाउँपालिका –४ जिरीकी पानसरी रावतले अहिलेसम्म तीन पटक भोट हालेको बताए “भोट हालियो तर सही भयो की गतल भयो थाहा भएन”, उनले भने, “घरमा श्रीमान्ले जहाँ भन्नुभयो, त्यही भोट हालेकी छु । अहिलेसम्म भोट हाल्न कसैले पनि सिकाएका छैनन् । अनुमानका आधारमा भोट हाल्दै आएको छु ।”
रावत जस्तै डोल्पा मुड्केचुला गाउँपालिका–७ की धनसरा सिंह पहिलो पटक भोट हाल्दै छन् । उनलाई मतदान गर्ने विधिका विषयमा कुनै जानकारी छैन । कक्षा ४ सम्म पढेर बीचमै छाडेकी सिंहले २७ वर्षको उमेरमा नागरिकता बनाइ पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् ।
भारतमा सात वर्ष बिताएर आएकी सिंहको घरमा पाँच जनाको परिवारले पहिलो पटक मतदान गर्दैछ । सिंहले भनिन्, “कसैले कांग्रेसमा भोट हाल भन्छन् कसैले माओवादी त कसैले एमालेमा भोट हाल्नु भन्छन् तर भोट कसरी हाल्ने हो कसैले पनि सिकाउँदैनन् । अरुलाइ भोट हाल्न म दिन्न । भोट हाल्न थाहा नपाएका व्यक्तिको अर्काले भोट हाल्ने यतातिर चलन छ ।”
डोल्पाका अधिकांश स्थानीय तहमा मतदाता शिक्षा नपुगेको जनप्रतिनिधिले नै बताएका छन् । स्थानीय तहको निर्वाचनमा समेत डोल्पामा धेरै भोट बदर भएका थिए । उपल्लो डोल्पाका तीन पालिकामा उम्मेदवारको प्रचारप्रसारदेखि मतदाता शिक्षा दिने कुनै व्यक्ति कुनै पनि समयमा नपुगेको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताएकी छिन् । उनले भनिन् , “उपल्लो डोल्पा त अकै देश जस्तो छ, यहाँ को पो आउछ र ?, पालिकामा कर्मचारी त आउदैन्, के को मतदाता शिक्षा सञ्चालन हुनु यतातिर ।”
अहिले स्थानीय तहले मतदाता शिक्षाका लागि बजेट परिचालनदेखि अनुगमनसम्मको जिम्मेवारी रहेकाले जिल्ला निर्वाचन कार्यालयसँग सम्पर्क गर्न नचाहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले बताएका छन् । उनले भने , “अनुगमनको जिम्मेवारीसमेत पालिकाकै रहेको छ । उहाँहरु तिहारमा घर गएर भर्खरै आउँदै हुनुहुन्छ । बजेट अहिले कसरी छुट्याउने भनेर आनाकानी गरिरहनुभएको छ ।”
उपल्लो डेल्पाका १२ केन्द्रका लागि मात्र हेलिकोप्टरको माग गरिएको प्रमुख सार्कीले बताए । फोक्सुण्डो गाउँपालिकाको वडा नं १ देखि ७ सम्म हेलिकप्टर प्रयोग गर्न सिफारिस गरिएको छ । त्यस्तै वडा नं ८ र ९ मा स्थल मार्गमार्फत कर्मचारी पठाउने निर्णय गरिएको छ । छार्काताङसुङ गाउँपालिका–१ मा हेलिकप्टर र अन्य वडामा स्थलमा मार्गमार्फत नै कर्मचारी जानुपर्ने बाध्यता आइलागेको प्रमुख सार्कीले बताएका छन् ।
त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ४, ५ र ६ मा हेलिकप्टर तथा अन्य वडामा हिँडेर जानुपर्ने भएको छ । यदि हेलिकप्टरको व्यवस्थापन गर्न नसकिएमा चुनाव गराउन कठिन हुने अवस्था आउने उनको भनाइ छ । हिमपातका कारण उपल्लो डोल्पामा जाने अग्ला हिमाल काटेर जानुपर्ने भएकाले त्यहाँ जान मुस्किल हुने गर्दछ । भर्खरै मात्र डोल्पा पुगेका कर्मचारीले कसरी अहिले मतदाता शिक्षाका लागि बजेट विनियोजन गर्ने प्रश्न गरिरहेका छन् । पालिकाले समन्वन नगर्दासमेत समस्या भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यत्ता जाजरकोटमा पनि पालिकामा रहेका अनुगमन संयोजकले प्रभावकारी रुपमा सहयोग नगरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन कठायतले बताउनुभयो । राष्ट्रिय मानव अधिकारी आयोग कर्णाली प्रदेशले आज आयोजना गरेका कार्यक्रममा समेत मतदाता शिक्षा प्रभावकारी नभएको सरोकारवालाले बताएका छन् । मतदाता शिक्षा नपाएका कारण धेरै भोट बदर स्थानीय तहको चुनावमा पनि भएको र अहिले पनि हुनसक्ने नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताएका छन् ।
पालिकाले आफैले बजेट व्यवस्थापन गरेर मतदाता शिक्षा दिने र अनुगमनसमेत पालिकाले गर्नुपर्ने भएपछि जिल्ला निर्वाचन कार्यालयलाई समन्वन गर्न समस्या हुँदै आएको छ । पालिकामा पटक–पटक ताकेता गर्दा पनि मतदाता शिक्षा र अनुगमनमा चासो कम देखिएको निमित्त प्रमुख कठायतले बताएका छन् ।