प्रक्रिया नपुर्‍याइएको खर्च विवरण निर्वाचन आयोगलाई अमान्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ११, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे । यद्यपि आयोगले उनलाई जरिवाना तिर्नुपर्ने उम्मेदवारको सूचीमा राख्यो ।

तर स्थानीय तह निर्वाचन निर्देशिकाले उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुका साथै निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेकोमा शाहले निर्वाचन कार्यालयमा समयमै खर्च नबुझाउँदा आयोगको कारबाहीमा परे । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा कतिपय उम्मेदवारले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । तर निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को उम्मेदवारले आफ्नो निर्वाचन खर्च आफू निर्वाचित भएको मितिदेखि आयोगले तोकेको समयसीमाभित्र सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने बताए ।

स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउँदा करिब एक लाख २३ हजार उम्मेदवार कारबाहीको दायरामा परेका थिए । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका ३६९ जनाको नाम हटाइयो । निर्वाचन आयोगका अनुसार आमनिर्वाचनमा प्रतिनिधि सभातर्फ दुई हजार ४१२ र प्रदेश सभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जनाले उम्मेदवारी दिएका थिए ।
यसरी प्रत्यक्षतर्फका पाँच हजार ६३६ जना उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च बुझाउनुपर्नेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस