मंसिर १३, उदयपुर । उदयपुरमा नेकपा एमाले लगाएतका १५ उम्मेदवारले प्रतिनिधि सभा क्षेत्र न।१को मतगणना प्रक्रियालाई बहिस्कार गरेका छन् । मंगलबार विहान मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएका सय थान मतपत्र वदर गर्ने निर्णय गरेसँगै उनिहरुले नाराजुलुस गर्दै बहिस्कार गरेका हुन् । नाराजुलुस सहित निस्किएका एमाले कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतलाई सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । मतगणना वहिस्कार गर्दै नेकपा एमालेबाट उम्मेदवार बनेकी मन्जुकुमारी चौधरीले न्याय दिने व्यक्तिले नै सक्ता र शक्तिको प्रलोभनमा परि मतगणना सुरु गरेकोमा असन्तुष्टी व्यक्त गरिन । मुख्य निर्वाचन अधिकृत विरुद्ध चर्को नारावाजीसहित गणना स्थलबाट एमाले कार्यकर्ता वाहिरिएका थिए ।
मतगणना सुचारु गर्न पटक–पटक बसेको सर्वदलिय बैठक विना निष्र्कष टुङ्गिएपछि मुख्यनिर्वाचन अधिकृतले मंगलबार यस्तो निर्णय गरेका हुन् । गणना कार्य स्थगित हुनुको कारणसहित निर्वाचन आयोगलाई निर्णयका लागि पठाइएको पत्रको जवाफमा मुख्यनिर्वाचन अधिकारीलाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको थियो । एमालेले भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखिरहँदा काँग्रेसले गणना गर्न नहुने अडान राखेको थियो ।