मंसिर १८, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन् ।
उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।