मंसिर २२, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकमा ७६ जना महिलालाई प्रतिनिधित्व गराउनु पर्ने जनाएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि आयोगले कानुनी व्यवस्थाअनुसार संघीय संसदमा महिलाहरुको एक तिहाई प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ ।
१ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ ।
एमालेको प्रत्यक्षमा ४४ स्थानमा जित हासिल गरेको र समानुपातिकतर्फ ३४ जनालाई निर्वाचित भएका छन् । त्यसैगरी एमालेको राष्ट्रिय सभामा १६ सांसद रहेका छन् । एमालेको संघीय संसद ९४ सदस्य रहेको छ । जसको आधारमा कम्तीमा ३२ जना महिला हुन आवश्यक छ । एमालेको राष्ट्रिय सभामा ९ जना महिला सांसद छन् । त्यसैगरी प्रत्यक्षमा निर्वाचित ४४ जनामध्ये ४ जना महिला रहेका छन् ।