उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • १०२ पटक पढिएको
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एकसूत्रीय अभियानमा लागेको बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कर्पोरेट परिषद्को प्रथम भेलामा मन्त्री भण्डारीले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताए।

मन्त्री भण्डारीले भने, ‘उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ। नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ। म एक्लै भए पनि एकसूत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु।’

निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीलाई आग्रह गरे। उनले भने, ‘उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीति सुधारको माग छ।’

उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको उनले जानकारी गराए। रुग्ण उद्योग सञ्चालनका लागि सरकारले कार्यविधि बनाउन लागेको बताउँदै उनले त्यसका लागि मन्त्रालयमा छलफल भइरहेको उल्लेख गरे।

ताजा अपडेट

खोजी गर्नुहोस