असार ९,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले शिक्षालाई व्यवहारिक र प्राविधिक तथा सिपयुक्त बनाउनु पर्ने औँल्याए ।
हेटौंडामा आइतबार आयोजित बागमती प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले शिक्षामा भएको बेथितिको कारण राज्यले लगानी गरेर पढाएका विद्यार्थी नेपालमा बस्न नचाहेको गुनासो गरे । शिक्षा क्षेत्रको समस्या समाधान गर्न पाठ्यक्रम र परीक्षा प्रणाली बदल्नुपर्नेमा उनले जोड दिए । भारत, चिन, युरोपलगायतका पाठ्ययक्रम नेपालका शिक्षा क्षेत्रको सरोकारवालाहरूले अध्ययन गर्नुपर्ने उनको भनाई छ ।
सम्मेलनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ । सार्वजनिक शिक्षाको रूपान्तरणको निमित्त संघ, स्थानीय तथा प्रदेश सरकारहरूले आफ्नो कल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने, स्थानीय सरकारलाई स्थानीय साधन स्रोतको व्यवस्थापन र परिचालन गर्न क्षमता अभिवृद्धि प्रदेश सरकारले गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेटमा बढ्दै गएको बेरुजु घटाउनु पर्ने, गुणस्तरीय सिकाईका आधारभूत पक्षहरूमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, शीघ्र र पारदर्शी बजेट कार्यान्वयनका लागि नागरिक संयन्त्र व्यवस्था गर्नुपर्ने घोषणा पत्र मार्फत भनिएको छ ।
प्रदेश सरकारले सार्वजनिक शिक्षामा स्थानीय तहलाई सहजीकरण र क्षमता अभिवृद्धि गर्नुपर्ने, निःशुल्क अनिवार्य शिक्षाको कार्यान्वयनको लागि सरकारले आर्थिक, कानुनी र नीतिगत जबाफदेहिता बहन गर्नुपर्ने तथा स्थानीय र समुदायस्तरमा अनुगमन संयन्त्र निर्माण गर्ने भनिएको छ ।